वीरगञ्ज । उच्च शिक्षा छात्रवृत्ति, शिक्षक तालिम तथा विद्यालय शिक्षाको पाठ्यक्रम विकासलगायतका विषयमा मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्य, नेसनल प्याब्सनकी केन्द्रीय अध्यक्ष गीता क्षेत्री (राणा) तथा केन्द्रीय समितिका पदाधिकारीबीच गहन छलफल भएको छ।
छलफलका क्रममा उच्च शिक्षा छात्रवृत्तिलाई आवश्यकता–आधारित (Need-based) मात्र नभई योग्यताका आधारमा (Merit-based) समेत प्रदान गर्नुपर्ने विषयमा जोड दिइएको छ। योग्य तथा प्रतिभाशाली विद्यार्थीलाई छात्रवृत्तिको अवसर उपलब्ध गराउन सके विद्यार्थी पलायन रोक्नसमेत सहयोग पुग्ने धारणा नेसनल प्याब्सनकी केन्द्रीय अध्यक्ष गीता क्षेत्री (राणा)ले व्यक्त गर्नुभयो।
त्यसैगरी, कक्षा १ देखि ८ सम्म अध्यापन गर्ने विद्यालय शिक्षकका लागि आवश्यक शिक्षक तालिम सञ्चालन गर्ने तथा विद्यालय तहको पाठ्यक्रम निर्माण र विकाससम्बन्धी कार्यक्रम अघि बढाउने विषयमा पनि छलफल भएको छ।
विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउँदै प्राविधिक तथा व्यावसायिक विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्। बदलिँदो शैक्षिक आवश्यकताअनुसार विद्यार्थीलाई व्यावहारिक तथा सीपमूलक शिक्षा प्रदान गर्न यस्ता विषयलाई विद्यालय तहदेखि नै प्राथमिकता दिनुपर्ने धारणा छलफलमा व्यक्त गरिएको थियो।
यस क्रममा मधेश विश्वविद्यालय विद्यालय शिक्षा सुधार तथा शैक्षिक विकासका कार्यक्रमहरूमा आवश्यक सहयोग र सहकार्य गर्न सकारात्मक रहेको उपकुलपति प्रा. डा. दीपक शाक्यले बताउनुभयो।
उक्त कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेसनल प्याब्सन र मधेश विश्वविद्यालयबीच सम्झौता (Agreement) गरी सहकार्यलाई व्यवस्थित रूपमा अघि बढाउने विषयमा समेत छलफल भएको छ।
सम्झौता भएपछि शिक्षक तालिम, पाठ्यक्रम विकास, प्राविधिक तथा व्यावसायिक शिक्षा र उच्च शिक्षा छात्रवृत्तिसम्बन्धी कार्यक्रमहरूलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रस्ताव गरिएको छ। छलफलले विद्यालय शिक्षादेखि उच्च शिक्षासम्म शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीका लागि थप अवसर सिर्जना गर्ने उद्देश्यका साथ संस्थागत सहकार्यको आधार तयार गरेको जनाइएको छ।