वीरगंज, १ मंसिर । मधेश प्रदेशमा यौनजन्य हिंसाका आपराधिक घटनाहरू बढ्न थालेपछि त्यसको रोकथाम तथा न्यूनीकरणका लागि तीनदिने सचेतनामूलक अभियान सुरु गरिएको छ।
अपराध अनुसन्धान विभागको ७१ औँ स्थापना दिवसको अवसर पारेर प्रहरीले मधेशमा बढ्दो यौनजन्य हिंसाविरुद्ध विशेष अभियान थालनी गरेको हो।
वीरगंजको ऐतिहासिक घण्टाघर चोकमा आयोजित एक कार्यक्रमका बीच पर्साका प्रमुख जिल्ला अधिकारी भोला प्रसाद दाहालले अभियानको औपचारिक उद्घाटन गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंज, पर्साका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णबहादुर पल्ली मगरले यौनजन्य हिंसामुक्त समाज स्थापना गर्ने उद्देश्यले प्रहरीले यो अभियान अघि बढाएको बताए।
एसएसपी मगरका अनुसार पछिल्लो समय मधेशका विभिन्न जिल्लाहरूमा यौनजन्य हिंसाका घटनाहरू बाहिर आइरहेका छन्। यस्ता जघन्य अपराधलाई नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालयको परिपत्रअनुसार आजदेखि तीनदिने अभियान सञ्चालन गरिएको उनले जानकारी दिए। समाजका सबै वर्ग र सरोकारवाला निकायको सामूहिक सहयोगबिना यस्ता घटनामा कमी ल्याउन कठिन हुने भएकाले सबैसँग हातेमालो गर्दै सचेतना फैलाउन लागिएको उनको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा सम्पन्न उद्घाटन कार्यक्रममा पर्साका प्रहरी प्रमुख पवन भट्टराई, सशस्त्र प्रहरी प्रमुख मोहन क्षेत्री, नागरिक समाजका अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अभियानको उद्घाटनपश्चात् घण्टाघर चोकबाट सचेतनामूलक प्लेकार्ड र ब्यानरसहितको र्याली निकालिएको थियो। वीरगंज नगरका विभिन्न भागको परिक्रमा गर्दै उक्त र्याली पुनः घण्टाघरमै पुगेर समापन भएको प्रहरीले जनाएको छ।