एजेन्सी । विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रिक गाडी ब्याट्री उत्पादक तथा टेस्लाको आपूर्तिकर्ता चीनको कन्टेम्पोरी एम्पेरेक्स टेक्नोलोजी (सीएटीएल)ले हङकङको स्टक एक्सचेञ्जमा कम्पनीको सूचीकरण हुन आवेदन दिएको छ । यसले हङकङको सबैभन्दा ठूलो सेयर निष्कासन गर्ने लक्ष्य राखेको छ।
रोयटर्सका अनुसार ब्याट्री कम्पनीले सेयरबाट कम्तिमा ५ अर्ब डलर उठाउने अपेक्षा गरेको छ । सीएटीएलको यो सेयर निष्कासनका लागि दोस्रो सूचीबद्धता हुनेछ । यसअघि कम्पनीले सन् २०२२ मा चीनको शेन्झेन स्टक एक्सचेन्जमा प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) मार्फत ६.७ अर्ब डलर उठाएको थियो।
फुजियान प्रान्तको निङ्दे सहरमा आधारित यस ब्याट्री निर्माताले टेस्लाका साथै बीएमडब्लू, भोल्क्सवागन, फोर्ड जस्ता अटो कम्पनीहरूलाई पनि आपूर्ति गर्दछ । आफ्नो विश्वव्यापी उपस्थिति विस्तार गर्नका लागि कम्पनीले गत डिसेम्बरमा पहिलो पटक हङकङ स्टक एक्सचेन्जमा सूचीबद्ध हुने आफ्नो योजना घोषणा गरेको थियो ।
मंगलबार हङकङ स्टक एक्सचेन्जमा पेस गरिएको प्रारम्भिक आवेदनपत्र अनुसार उठाइने कोषको केही हिस्सा युरोपमा कम्पनीको उपस्थिति विस्तार गर्न खर्च गरिनेछ भने अन्य रकम विशेषगरी हंगेरीमा निर्माणाधीन प्लान्टका लागि खर्च हुने छ ।
कति सेयर जारी गरिने र कति पूँजी संकलन गरिने भन्ने महत्वपूर्ण विवरण गोप्य राखिएको सीएनएनले जनाएको छ । कम्पनीले सूचीबद्धताको समयसीमा पनि खुलाएको छैन ।
गत वर्षसम्म सीएटीएलले चीन र जर्मनीसहित विश्वभर १३ वटा ब्याट्री कारखाना सञ्चालन गरिरहेको थियो । कम्पनीले स्पेनमा स्टेलान्टिससँग मिलेर नयाँ ब्याट्री प्लान्ट खोल्ने योजना सार्वजनिक गरिसकेको छ । यसका अतिरिक्त, इन्डोनेसियामा पनि ब्याट्री सम्बन्धी विभिन्न परियोजनाहरू अघि बढाउने तयारी गरिरहेको समाचारमा जनाइएको छ।
सीएटीएलको अन्तर्राष्ट्रिय सूचीबद्धता योजनाले बढ्दो भूराजनीतिक तनावको बीचमा चुनौतीहरू निम्त्याउने सम्भावना छ । कम्पनीले व्यापारमा पर्ने जोखिमहरूको उल्लेख गरेको छ । यद्यपि, उसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै चिनियाँ वस्तुहरूमा लगाएको १० प्रतिशत शुल्कबारे केही उल्लेख गरेको छैन ।
गत महिना अमेरिकी रक्षा मन्त्रालयले सीएटीएललाई चिनियाँ सैन्यसँग सम्बन्धित कम्पनीहरूको कालोसूचीमा राखेको थियो । जसले रक्षा मन्त्रालयका सम्झौताहरूबाट कम्पनीलाई प्रतिबन्ध लगाएको छ । सीएटीएलले यसलाई ‘गलत निर्णय’ भन्दै यसबारे अमेरिकी रक्षा मन्त्रालयसँग संवाद गरी गलत जानकारी सच्याउने बताएको छ।
‘यो प्रतिबन्ध अमेरिकी सरकारका सीमित निकायहरूसँग कारोबार गर्न मात्र रोक लगाउने हो । त्यसैले, हाम्रो समग्र व्यवसायमा यसको कुनै ठूलो असर पर्ने छैन,’ सीएटीएलले भनेको छ ।
एसएनई रिसर्चका अनुसार सीएटीएल सन् २०२४ मा लगातार आठौं वर्ष विश्वको सबैभन्दा ठूलो इलेक्ट्रिक ब्याट्री आपूर्तिकर्ता बनेको थियो । जसको विश्व बजार हिस्सा ३८% थियो । गत वर्षको अन्त्यसम्म कम्पनीका ब्याट्रीहरू विश्वभरका हरेक तीनवटा इलेक्ट्रिक गाडीमध्ये एकमा जडान गरिएको थियो र यसले करीब १.७ करोड गाडीहरूलाई उर्जा प्रदान गरिरहेको दाबी गरिएको छ ।
कम्पनीले सन् २०२३ मा ४००.९ अर्ब युआन (५४.८ अर्ब डलर) को व्यापार गरेको थियो । २०२३ को पहिलो त्रैमासिकमा २५९ अर्ब युआन (३५.४ अर्ब डलर) आय गरेको थियो ।
बढ्दो भू–राजनीतिक जोखिम र चीनको कमजोर अर्थतन्त्रका कारण विदेशी कम्पनीहरू चीनबाट पछि हट्दै छन् भने अर्कोतर्फ केही अटो कम्पनीहरूले विश्वको सबैभन्दा ठूलो अटो बजारमा आफ्नो लगानी बढाइरहेका छन् ।
मंगलबार अमेरिकी इलेक्ट्रिक गाडी कम्पनी टेस्लाले सांघाइमा नयाँ ब्याट्री कारखानाको उत्पादन सुरु गरेको छ । जुन सांघाइस्थित टेस्लाको गाडी उत्पादन कारखानासँगै रहेको छ ।
गत हप्ता टोयोटाले सन् २०२७ बाट सांघाइमा आफ्ना लक्जरी ब्रान्ड लेक्ससका लागि इलेक्ट्रिक गाडी र ब्याट्री उत्पादन गर्ने योजना सार्वजनिक गरेको थियो । टोयोटाले यसका लागि पूर्ण स्वामित्वमा नयाँ कम्पनी स्थापना गर्नेछ ।