मधेस प्रदेश प्रहरी कार्यालय, वीरगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० शान्तिराज कोइरालाले मधेस प्रदेशमा शान्ति, सुरक्षा र अपराध नियन्त्रणका लागि प्रदेश प्रहरी कार्यालयले समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनु भएको छ। शुक्रबार वीरगञ्जमा आयोजित पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा उनले मधेस प्रदेशका आठ वटै जिल्लामा बढ्दो सामाजिक अपराधलाई प्रमुख चुनौतीका रूपमा चित्रण गर्दै त्यसविरुद्ध सामूहिक प्रयास आवश्यक रहेको बताए।
कोइरालाले अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुव्यवस्था कायम राख्न प्रहरी मात्र पर्याप्त नहुने भन्दै स्थानीय समुदाय, पत्रकार, प्रशासन र विभिन्न सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले– “हामी सीमित स्रोतसाधनका बाबजुद पनि निरन्तर प्रयासरत छौं। तर, सबै निकाय मिलेर काम गरे मात्र मधेसलाई सुरक्षित बनाउन सकिने भने।”
उनले मधेस प्रदेश प्रहरी कार्यालयको इतिहासबारे जानकारी दिँदै २०७५ सालमा जनकपुरमा स्थापना भएको र २०७८ साल फागुन ५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार वीरगञ्जमा स्थानान्तरण गरिएको स्मरण गराए। वीरगञ्जस्थित कार्यालयले अहिले सूचना संकलन, अपराध विश्लेषण, फैसला कार्यान्वयन र विभिन्न निकायहरूसँग समन्वयलाई प्राथमिकता दिइरहेको उनले बताए। संघीय प्रहरी ऐन हालसम्म जारी नभएकाले केही कार्यगत चुनौतीहरू रहेको स्वीकार गर्दै एसएसपी कोइरालाले, ऐन कार्यान्वयन भएपछि प्रदेश प्रहरीको भूमिकाले अझ प्रभावकारी मोड लिने विश्वास व्यक्त गरे।
कार्यक्रममा उनले पत्रकारलाई “समाजको ऐना” भन्दै अपराध नियन्त्रणमा सूचनाको महत्त्वपूर्ण योगदान हुने टिप्पणी गरेका थिए। “पत्रकारहरूले उपलब्ध गराउने सूचनाले प्रहरीलाई ठूलो सहयोग पुर्याउँछ। पारदर्शी र प्रभावकारी प्रहरी सेवा दिन हामी सधैं तयार छौं,” कोइरालाले भने। मधेस प्रदेशमा लागूपदार्थ दुरुपयोग, मानव तस्करी, सामाजिक अपराध तथा सीमापार आपराधिक गतिविधि मुख्य चुनौती रहेको बताउँदै उनले यी समस्या समाधान गर्न रणनीतिक योजना बनाइने जानकारी दिए। उनका अनुसार, प्रहरीको आगामी योजना अपराध नियन्त्रणसँगै स्थानीय तह, नागरिक समाज र पत्रकारहरूसँग सहकार्य गर्दै सुरक्षा संयन्त्रलाई थप बलियो बनाउने रहे को बताए।