रौतहटको गरुडामा ट्राफिक प्रहरी गरुडा इकाईको आयोजनामा ट्राफिक जोखिम न्यून गर्नु पर्ने विषयक अन्तरक्रिया कार्यक्रमू शनिबार सम्पन्न भएको छ। स्थानीय ट्राफिक समस्यालाई सम्बोधन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रह्यो।
कार्यक्रमको सभापतित्व जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख लोकेन्द्र अधिकारीले गरेका थिए। उनले आफ्नो मन्तव्यमा ट्राफिक व्यवस्थापन सुधार्न स्थानीय सरकार, जनप्रतिनिधि र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताए। अधिकारीले दुर्घटना न्यूनीकरणका लागि जनचेतना, सडक अनुशासन र कानुनी कार्यान्वयन सबै एकसाथ जानुपर्नेमा जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि गढीमाई नगरपालिकाका नगरप्रमुख श्याम प्रसाद यादवले ट्राफिक समस्याले आमजनताको दैनिक जीवन प्रभावित पारेको उल्लेख गर्दै नगरस्तरमै ट्राफिक सुधारका कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे। “सडक दुर्घटना न्यूनीकरण नगर सरकारको प्राथमिकतामा पर्छ। जनचेतना अभिवृद्धि बिना सुधार सम्भव छैन,” उनले भने।
कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सल्लाहकार राजकुमार दासले ट्राफिक व्यवस्थापनलाई केवल प्रहरीको जिम्मेवारी बनाउने प्रवृत्ति हटाउनु पर्ने बताए। उनले भनें, “समाजकै सक्रिय सहभागिताले मात्र दिगो समाधान सम्भव छ। विद्यार्थी, अभिभावक, शिक्षक र व्यवसायी सबैले भूमिका निर्वाह गर्नुपर्छ।”
त्यसैगरी गरुडा नगरका भावी उम्मेदवार अनिल कुमार यादवले ट्राफिक सुधारका लागि दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गरे। उनले यातायात संरचना विकास, सिग्नल प्रणाली र सडक संकेतका व्यवस्थाबारे गम्भीर सोच र योजना बनाउन सुझाव दिए।
कार्यक्रममा सहभागी वडाध्यक्षहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू तथा प्रहरी निरीक्षक सोनु कुमार राम सहित सुरक्षाकर्मीहरूको पनि उपस्थिति थियो। सबैले आ–आफ्नो अनुभव र सुझाव प्रस्तुत गर्दै ट्राफिक समस्या समाधानका लागि सामूहिक प्रयासको आवश्यकता औंल्याए।
प्रहरी निरीक्षक सोनु कुमार रामले गरुडा क्षेत्रमा हुने ट्राफिक समस्याको प्राविधिक र व्यवहारिक पक्षबारे प्रष्ट पारे। उनले नियम उल्लंघन, हेलमेट प्रयोग नगर्ने बानी, सवारी चालक अनुमतिपत्र नभएका चालकहरू लगायतका कारणले समस्या जटिल बनेको जनाए। उनले नियमित चेकजाँच, सचेतनामूलक कार्यक्रम तथा कानुनी कारबाही सँगसँगै चलाउने प्रतिबद्धता जनाए।
कार्यक्रममा स्थानीय सञ्चारकर्मीहरूले पनि ट्राफिकसम्बन्धी समाचार प्रकाशनमार्फत जनचेतना अभिवृद्धिमा सघाउने प्रतिवद्धता जनाए। कार्यक्रम समापन गर्दै सभापति लोकेन्द्र अधिकारीले सहभागी सबैप्रति धन्यवाद ज्ञापन गरे र आगामी दिनहरूमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी गराए।
यस अन्तरक्रियाले गरुडा र आसपासका क्षेत्रहरूमा ट्राफिक समस्याको गहिरो मूल्यांकन गर्न सहयोग पुर्याएको छ। सरोकारवालाहरूको संयुक्त प्रयास र सामूहिक प्रतिबद्धता आगामी दिनमा सुरक्षित र व्यवस्थित ट्राफिक व्यवस्थापनतर्फ उन्मुख हुने अपेक्षा गरिएको छ।