जनता समाजवादी पार्टी नेपाल पर्साले खबरदारी सभा आयोजना गरेको छ । जसपा नेपालले नागरिक अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायका लागि संयुक्त संघर्ष गर्ने उद्देश्यले खबरदारी सभा आयोजना भएको पार्टी प्रचार प्रसार विभागले जनाएको छ ।
पार्टीको केन्द्रीय परिसंघले देशको सबै उत्पीडित समुदायलाई समेटेर वीरगञ्जमा वृहत् अन्तरक्रियासहितको खबरदारी सभा आयोजना गरेको हो ।
सभामा उक्त कार्यक्रममा दलित, थारु, महिला, आदिवासी जनजाति, पिछडावर्ग, मुस्लिम र अल्पसंख्यक समुदायसँग सम्बन्धित नेतृत्व, संघ–संस्था तथा व्यक्तित्वहरूको सक्रिय सहभागीता छ ।
उत्पीडित समुदायहरूको राष्ट्रिय पहिचानको मान्यता, जनसंख्याका आधारमा प्रतिनिधित्व, मानव अधिकारको प्रत्याभूति, सबैलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, समानता र सामाजिक न्याय सुनिश्चित गर्न संघर्ष गरिने उल्लेख गरिएको छ ।
सभामा परिसंघको कार्यदिशा, आगामी कार्यभार र उद्देश्यहरू समेटिएको ३५ बुँदे अवधारणा पत्र सार्वजनिक गरिएको छ । कार्यक्रममा जसपा नेपालका अध्यक्ष यादवले १३ पृष्ठको उक्त अवधारणा पत्र प्रस्तुत गरेका हुन् ।
अवधारणा पत्रमा दलित, आदिवासी जनजाति, पिछडावर्ग, थारु, अल्पसंख्यक समुदाय र महिलामाथि भइरहेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक असमानता, विभेद, शोषण र उत्पीडन अन्त्य गर्ने उल्लेख छ ।