गौर, रौतहट — नेपाल आर्य समाज रौतहट शाखाको नयाँ कार्यसमिति चयनका लागि गौरस्थित आर्य समाज भवनमा सम्पन्न बैठकबाट सत्यनारायण राउतलाई पुनः सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको छ। अध्यक्ष राउतको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
बैठकमा सहभागी राजेश कुमारका अनुसार, सत्यनारायण राउत नेतृत्वको कार्यसमिति पुनर्गठनका क्रममा सम्पूर्ण सदस्यहरूको सर्वसम्मत सहमति प्राप्त भएको हो। उपाध्यक्षमा लक्ष्मीनारायण पाण्डे, जयमंगल प्रसाद र भागरित साह चयन भएका छन्। सचिवमा चन्देश्वर साह, सहसचिवमा प्रदीप कुमार महतो, कोषाध्यक्षमा रामप्रकाश साह चयन भएका छन्।
त्यस्तै, नवगठित कार्यसमितिका सदस्यहरूमा रामेश साह, राजेश्वर कुमार, रामनारायण प्रसाद, अमिन्द्र आर्य, रामसिंह पटेल, सुरेन्द्र साह, केदार गिरी, नन्दलाल साह, श्यामसुन्दर आर्य, रामराज पटेल, राधेश्याम साह, उमाशंकर साह, महेन्द्र सहनी र सुरेन्द्र सहनी रहेका छन्।
बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष सत्यनारायण राउतले गत १२ वर्षको कार्यकालमा आर्य समाजको विस्तार, भोगिएका कठिनाइ र त्यसबाट प्राप्त उपलब्धिहरूको विवरण सहभागीहरूसँग साझा गरे। उनले संगठन सुदृढीकरणका लागि सबै सदस्यलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।
कार्यक्रममा कोषाध्यक्ष रामप्रकाश साहले आर्थिक वर्ष २०६७/०६८ देखि २०८०/०८१ सम्मको आयव्यय विवरण प्रस्तुत गरेका थिए। बैठकले प्रतिवेदन पारित गर्दै आगामी कार्यक्रमहरूको कार्ययोजना तय गर्ने निर्णयसमेत गरेको छ।
बैठकले आगामी जेठ २४ गते परोहा नगरपालिका–भेडियाही गाउँमा अर्को बैठक आयोजना गर्ने निर्णयसमेत गरेको छ। संगठन सुदृढीकरण, धर्मशिक्षा प्रसार र सामाजिक सेवा विस्तारलाई कार्यसूचीमा राखेर कार्यसमिति अघि बढ्ने जनाइएको छ।
सर्वसम्मत चयनबाट गठित यस कार्यसमिति प्रति आर्य समाज रौतहटका सदस्यहरूबीच उत्साह र अपेक्षा बढेको देखिएको छ।