रौतहट– ‘विद्यालय सम्पर्क कार्यक्रम, २०८१’ अन्तर्गत रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरीस्थित श्री जय किसान माध्यमिक विद्यालयमा आज बिहान विद्यार्थीहरूलाई विविध सामाजिक अपराधसम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ।
कार्यक्रम जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडा रौतहटको आयोजनामा सम्पन्न भएको हो। विद्यालयका प्रधानाध्यापक संजय प्रसादको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा ८, ९ र १० का छात्र–छात्रा तथा शिक्षकवृन्द गरी जम्मा ५९ जनाको उपस्थिति रहेको थियो।
कार्यक्रममा सेवा केन्द्रमा कार्यरत प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) दीपिका ओझाले जबरजस्ती करणी, घरेलु हिंसा, बालविवाह, बालश्रम शोषण, मानव बेचबिखन, बाल यौन दुर्व्यवहार, जातीय छुवाछुत, दाइजो प्रथा, साइबर अपराध, लागूपदार्थ दुव्र्यसनी तथा यौनजन्य हिंसाजस्ता गम्भीर सामाजिक समस्याबारे विस्तृत रूपमा जानकारी दिइन्।
प्रशिक्षण कार्यक्रममा श्रव्य–दृश्य सामग्रीको प्रयोग गरी सजिलै बुझ्ने शैलीमा जानकारी दिइएको थियो भने सहभागीहरूमाझ पर्चा, पम्पलेटसमेत वितरण गरिएको थियो। कार्यक्रममा सहभागी विद्यार्थी तथा शिक्षकहरूले यस्ता कार्यक्रमले समाजमा सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
सुरुमा बिहान ७ः१५ बजे सुरु भएको कार्यक्रम ९ः१५ बजे सम्पन्न भएको थियो।