वीरगञ्ज । चोरी निकासी तथा अवैध पैठारी नियन्त्रण गर्न वीरगञ्जका विभिन्न आठ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ। स्थानीय राजस्व चुहावट नियन्त्रण समितिको निर्णयअनुसार वीरगञ्जको छपकैया, सिर्सिया, बलिरामपुर र अलौँलगायतका संवेदनशील क्षेत्रमा दुई–दुईवटा गरी कुल आठवटा सिसी क्यामेरा जडान गरिएको हो।
भन्सार कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको टोली सिसी क्यामेरा जडानका लागि गएको बेला केही स्थानमा अवरोधसमेत आएको थियो। तर सोमबार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालकै नेतृत्वमा टोली पुगेपछि सिसी क्यामेरा जडान कार्य सम्पन्न भएको हो।
प्रजिअ अर्यालका अनुसार सिसी क्यामेरा जडान भएसँगै अवैध तस्करी नियन्त्रणमा मनोवैज्ञानिक दबाब सिर्जना भई निगरानी सजिलो हुने अपेक्षा गरिएको छ।
“अबको अवस्थामा तस्करी नियन्त्रण थप प्रभावकारी हुनेछ,” अर्यालले भने, “सिसी क्यामेरा निगरानीका माध्यमबाट अवैध क्रियाकलाप रोक्न सकिन्छ भन्ने विश्वास लिएका छौँ।”
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेले पहिलो चरणमा आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरी क्यामेरा जडान गरिएको जानकारी दिए।
उनले भने, “संवेदनशील स्थानहरू पहिचान गरी सिसी क्यामेरा जडानको कार्य निरन्तर गर्दै जाँदैछौँ। आगामी चरणमा पर्सा र बाराका छोटी भन्सार, नाका तथा अन्य जोखिमयुक्त ठाउँमा पनि क्यामेरा जडान गर्ने योजना छ।”
सिसी क्यामेरा जडानको कार्यमा प्रहरी प्रमुख गौतम मिश्र, सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका गणपति राधेश्याम धिमाललगायतको पनि उपस्थिति रहेको थियो। यस कदमलाई स्थानीय निकाय र सुरक्षा निकायले तस्करी नियन्त्रणको प्रभावकारी पहलका रूपमा लिएका छन्।