नेकपा एमाले वीरगंज महानगर कमिटीले मंगलबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । महानगर अध्यक्ष नवराज शर्माको नेतृत्वमा गएको टोलीले पर्सा जिल्लाका विभिन्न सरकारी कार्यालयमा व्याप्त अनियमितता, भ्रष्टाचार तथा वेथिती बढेको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
सरकारी कार्यालयको कार्य सम्पादन माथि प्रश्न चिन्ह खडा भएको तथा जिल्ला प्रहरी कार्यालयमा समेत दलगत समुह हावी भई पिडकलाई झन पिडित बनाउने काम बढेको भन्दै त्यसता गतिबिधि माथि निगरानी गरि नियन्त्रण गर्न ध्यानाकर्षण मार्फत एमाले वीरगंज महानगरले सुझाव दिएको छ ।
यातायात,मालपोत, नापी, भन्सार, विद्युत प्राधिकरण लगायत दर्जनौं कार्यालयमा बिचौलिया हावी भएको तथा बिना पैसा कुनै सेवा नपाइने अवस्था भएको अध्यक्ष नवराज शर्माले हस्ताक्षरण गरेको विज्ञप्तिमा उल्लेख छ। एमाले महानगर कमिटीले प्रहरी प्रशासनप्रति पनि असन्तुष्टि जनाउँदै राजनीतिक र सामाजिक प्रभावमा परेर काम गर्ने, सानातिना विवादमा मुद्दा थोपर्ने प्रवृत्तिको आलोचना गरेको छ ।यस्तै, विकास निर्माणको गुणस्तर खस्किएको, अनुगमन नहुने, कमिसनको खेल मौलाएको भन्दै नियन्त्रण गर्ने संयन्त्र नै कमजोर भएको उल्लेख गरिएको छ । स्थानीय तहको कमजोरीप्रति पनि एमाले महानगर कमिटिले गुनासो गरेको छ । स्वास्थ्य क्षेत्रमा उल्लेख्य भूमिका नदेखिएको र तीन तहको सरकारमध्ये स्थानीय तह समेत निष्क्रिय जस्तो देखिएको भन्दै आलोचना भएको हो ।
करिब पाँच महिनाअघि जगरनाथपुरमा आगलागी हुँदा ४ बिघा धान खेत जलेको घटनामा अहिलेसम्म राहत नपाएको, बन्दरगाह क्षेत्रको अधिग्रहणपछिको क्षतिपूर्ति अझै बाँकी रहेको विषयमा समेत तत्काल कदम चाल्न आग्रह गरिएको छ ।विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ भन्ने प्रधानमन्त्रीको भनाइ पर्साका सरकारी कार्यालयमा चुनौती बनेको छ ।“ एमालेले यस्ता अवस्थालाई किमार्थ स्वीकार्य नहुने स्पष्ट गर्दै आवश्यक सुधार नभए सशक्त आन्दोलन घोषणा गर्न बाध्य हुने चेतावनी दिएको छ ।
नेकपा एमाले महानगर कमिटीले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने, बिचौलिया प्रवेश निषेध गर्न दबाब दिने, झुट्टा मुद्दामा संलग्न निकायको भण्डाफोर गर्ने लगायतका कार्यक्रम अगाडि बढाउने बताएको छ । परिस्थिति यथावत् रहेमा उत्पन्न सबै जिम्मेवारी सम्बन्धित निकायले नै वहन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
नेकपा एमाले वीरगञ्ज महानगर कमिटि अध्यक्ष नवराज शर्माको नेतृत्वमा गएको टोलीमा महानगर इञ्चार्ज विचारी यादव, वीरगञ्ज महानगरका पूर्व नगर प्रमुख तथा पार्टीका सल्लाहाकार कमिटि सदस्य विजय कुमार सरावगी, महानगर कमिटि सचिव जयनारायण सिंह कुर्मी, महानगर लेखा समिति अध्यक्ष अजय साह, वीरगञ्ज महानगर वडा नम्बर १७ का वडा अध्यक्ष सञ्जिव बहादुर क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।ध्यानाकर्षण बुझदै प्रजिअ गणेश अर्यालले आफु पर्सा जिल्ला आए देखिनै सरकारी कार्यालयहरुको सेवा प्रवाहको सुक्षम अनुगमन र अनुसान्धान गरिरहेको बताए । उनले केही कार्यालयको सेवा प्रवाहमा सुधार भएको र केहिमा छिटै हुने आश्वासन व्यक्त गर्नुभयो ।उहाँले कानुन मिचेर आफुहरु कुनै काम नगर्ने र कानुनको अधिन भित्र रहेर सेवा प्रवाह गर्ने बताए । एमाले वीरगंज महानगरले उठाएको मुद्दा साँझा भएको भन्दै त्यसलाई गम्भिरता पुर्वक लिने प्रतिवद्धा व्यक्त गरे ।
