वीरगञ्ज– सामाजिक क्षेत्रमा क्रियाशील संस्था ‘ईम्प्रुभिङ् वीरगंज’ले आफ्नो दशौं स्थापना दिवस भव्य रूपमा मनाएको छ । वीरगंजको टाउनहलमा आयोजित विशेष समारोहका बीच यो कार्यक्रम सम्पन्न गरिएको हो । संस्थाकी अध्यक्ष पिंकी साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह प्रमुख अतिथिको रूपमा सहभागी थिए ।
उद्घाटन मन्तव्यका क्रममा प्रमुख सिंहले सामाजिक क्षेत्रमा संस्थाले पुर्याउँदै आएको योगदानको खुलेर प्रशंसा गरे । उनले भने, “मानिस मानसिक रूपमा सशक्त भए मात्र उसले शारीरिक रूपमा पनि आफूलाई बलियो बनाउन सक्छ । जब व्यक्ति स्वस्थ हुन्छ, तब उसले समाजलाई सकारात्मक रूपमा योगदान दिनसक्छ ।" उनले वीरगंज महानगरपालिकाले सामाजिक उत्तरदायित्वका क्षेत्रमा संस्थासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
संस्थाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सरन गुप्ताले कार्यक्रममा बोल्दै ‘ईम्प्रुभिङ् वीरगंज’ले विगतमा गरेका कार्य, तिनको प्रभावकारिता तथा आगामी योजनाहरूको विस्तृत जानकारी दिए । उनले विशेषतः समुदायमा चेतना अभिवृद्धि, स्वास्थ्य, शिक्षा तथा मानसिक स्वास्थ्यजस्ता विषयमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताए।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले शुभकामना मन्तव्य राख्दै संस्थाको कार्यप्रति उत्साहजनक समर्थन जनाए ।
नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले स्वास्थ्य सेवा क्षेत्रमा संस्थाको योगदान महत्वपूर्ण रहेको बताए । जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले संस्थाको सामाजिक कार्यको निरन्तरता आवश्यक रहेको औँल्याए भने वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले निजी क्षेत्रसँगको सहकार्यबाट समाजमा सकारात्मक प्रभाव पार्न सकिने धारणा व्यक्त गरे । महिला अधिकारकर्मी डा। सुष्मा तिवारीले महिला सशक्तीकरणमा संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए । सामुदायिक संस्था सानो पाइलाका सञ्चालन प्रमुख विवेक कर्णले सहकार्यबाट मात्र दीर्घकालीन विकास सम्भव हुने धारणा राखे । मानव सेवा आश्रमका देबेश मानवसेवाले पीडित वर्गको सेवामा देखाएको समर्पणको प्रशंसा गरे भने उत्कर्ष नेपालका संस्थापक जय साहले युवाहरूलाई समाजसेवामा प्रेरित गर्न यस्ता संस्थाहरू आवश्यक भएको बताएका छन्
संस्थाले आगामी वर्षहरूमा बालबालिका, महिला, मानसिक स्वास्थ्य र युवाहरूको नेतृत्व विकासमा केन्द्रित नयाँ परियोजनाहरू ल्याउने योजनासमेत सार्वजनिक गरेको छ ।