रौतहट - विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी रौतहट अन्तर्गतको रक्त सञ्चार सेवा समितिद्वारा अन्तरक्रिया तथा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। समितिका सहसंयोजक शेख कैमुदिनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्य शाखाका सभापति श्री राजकिशोर प्रसाद यादवले गर्नुभएको थियो।
शाखाका उपसभापति तथा वरिष्ठ अधिवक्ता अनिरुद्ध महतोले कार्यक्रमबारे जानकारी दिँदै सहभागी सबैलाई स्वागत गरे। कार्यक्रममा सञ्चालनको भूमिका निभाउँदै शाखाका मन्त्री धर्मेन्द्र प्रसाद सिंहले विश्वमा रक्तदाताको अवस्था, रौतहट जिल्लाको रक्तदानको स्थिति र स्थानीय संघ–संस्थाहरूको भूमिका विषयमा प्रकाश पारे।
रौतहट जिल्लाका विश्वसनीय औद्योगिक पात्र सन्तोष केशरी, नियमित रक्तदाता धिरेन्द्र गुप्ता, शैलेन्द्र यादव तथा अभियान नेपालका कार्यकारी निर्देशक शत्रुधन सिंहले जिल्लामा प्रभावकारी रक्तदान कार्यक्रम सञ्चालनका लागि आवश्यक योजना र रणनीतिबारे आ–आफ्नो विचार व्यक्त गरे।
स्वास्थ्य क्षेत्रका प्रतिनिधि मेडिकल अधिकृत डा. कुमार आशुतोषले रक्तदानको वैज्ञानिक पक्ष र रक्तदाताहरूको उत्प्रेरणा सम्बन्धमा प्रशिक्षण दिएका थिए। उनले नियमित रक्तदान स्वास्थ्यका लागि लाभदायक रहेको जानकारी दिँदै रक्तदानप्रति सकारात्मक सोच विकास गर्न सबैलाई आग्रह गरे।
कार्यक्रममा जिल्ला कार्यसमिति सदस्य बालकुमार जयसवाल, उपशाखा सभापति शिवचन्द्रलाल कर्ण, समाजसेवी हेमन्त यादव लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा सहभागीहरूले रक्तदानको महत्व र आवश्यकता बारे सचेतना फैलाउनुका साथै रगत अभावको समस्यालाई समाधान गर्न सामूहिक प्रयासको आवश्यकता औँल्याएका थिए।