नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको बैठक शुक्रबार जनकपुरधाममा सम्पन्न भएको छ । बैठकले प्रदेशभरिका सञ्चारकर्मीको हकअधिकार सुनिश्चित गर्ने, स्वतन्त्र पत्रकारिताको संरक्षण तथा संस्थागत विकासमा टेवा पुग्ने उद्देश्यसहित १३ बुँदे महत्वपूर्ण निर्णयहरू पारित गरेको छ ।
बैठकले विगतदेखि उठाउँदै आएका पत्रकार हितका विषयलाई पुनः दोहोर्याउँदै सरकार, सञ्चार संस्था तथा सरोकारवाला निकायहरूसँग प्रभावकारी कार्यान्वयनको माग गरेको छ । महासंघले प्रदेश समितिको आफ्नै भवन निर्माणका लागि गरिएको जग्गा प्राप्तिको प्रक्रियालाई कानुनी वैधता दिलाउने निर्णय गरेको छ । यस कार्यका लागि आवश्यक समन्वय तथा पत्राचार गर्ने जिम्मेवारी महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ लाई दिइएको छ ।
त्यस्तै, प्रदेशको विभिन्न जिल्लामा सञ्चारमाध्यमका प्रतिनिधिहरूमाथि भएका दबाब, धम्की र दुर्व्यवहारको भर्त्सना गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन राज्यका निकायलाई आग्रह गरिएको छ । पत्रकार महासंघ मधेश प्रदेश समितिका सल्लाहकार अवधेश झा र उपाध्यक्ष ज्योति झालाई क्रमशः प्रदेश प्रमुखको प्रेस सल्लाहकार तथा आम सञ्चार प्राधिकरणको सदस्यमा नियुक्त गरिएकोमा बैठकले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
बैठकले पत्रकारिताको मर्यादा कायम राख्न पत्रकारहरूलाई आचारसंहिता पालना गर्न र विवादमा नपर्ने गरी मर्यादित पत्रकारिता गर्न समेत आह्वान गरेको छ । आठवटै जिल्लामा आवद्ध पत्रकार महासंघ सदस्यहरूको सदस्यता नवीकरण असार १५ भित्र गर्न र नवीकरण शुल्क प्रदेश समितिमा पठाउन अनुरोध गरिएको छ । साथै, कार्यालय व्यवस्थापन र उद्घाटनको तयारी गर्न निर्देशन दिइएको छ ।
सञ्चार माध्यमहरूलाई आत्मनिर्भर बनाउन कार्यसमिति सदस्यहरूले स्वेच्छिक मासिक आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ । उक्त सहयोगलाई व्यवस्थित गर्न कोषाध्यक्षमार्फत कार्ययोजना ल्याउने निर्णय पनि बैठकले गरेको छ । बैठकले प्रदेश सरकार समक्ष पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा अभियानका रूपमा सञ्चालन गर्न, छुटेकाहरूलाई समावेश गर्न र गैरपत्रकारको बीमा भएमा पुनरावलोकन गर्न माग गरेको छ ।
लोककल्याणकारी विज्ञापनका सन्दर्भमा प्रत्येक मिडियालाई कम्तीमा एक लाख रुपैयाँ बराबरको विज्ञापन सुनिश्चित गर्न आग्रह गरिएको छ । सुचिकरणबाट छुटेका सञ्चारमाध्यमहरूको पुनः समावेशका लागि पनि सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।
त्यस्तै, पत्रकार कल्याणकारी कोष स्थापनाका लागि रकम व्यवस्था, पत्रकार भवन निर्माण, मर्मत, तालिम, गोष्ठी, पेन्शन, लेखनवृत्ति, पुरस्कार, अनुभव आदान–प्रदान भ्रमण, नयाँ मिडिया तालिमलगायत विषयमा निव्र्याजी ऋण उपलब्ध गराउने माग बैठकले अघि सारेको छ ।
नयाँ कार्यसमिति निर्वाचितपछिका केही महिनामा प्रदेशका पत्रकार तथा पत्रकार परिवार सदस्यहरूको निधन भएको उल्लेख गर्दै बैठकले पत्रकार फणी महत, बारा अध्यक्ष रमेश सुवेदीका पिता, सर्लाही अध्यक्ष ओमप्रकाश ठाकुरकी मातालगायतलाई श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
महासंघले समग्र पत्रकारिता विशेषतः निजी स्वामित्वमा सञ्चालित मिडियाको विकासमा सरकारलाई जिम्मेवार बन्न आग्रह गर्दै पत्रकार मैत्री कानुन निर्माणको पहल गर्न सुझाव दिएको छ । आउँदो आर्थिक वर्ष २०८२र८३ का लागि प्रस्तुत गरिन लागेको प्रदेश सरकारको बजेटमार्फत यी मागहरू सम्बोधन गर्न पनि आग्रह गरिएको छ ।
बैठकले पत्रकारहितका मागहरू पूरा गराउन प्रदेशभरिका पत्रकार, सञ्चारकर्मी, संगठन, राजनीतिक दल, नागरिक समाज सबैलाई एकजुट हुन आह्वान गरिएको छ । बैठकमा महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछाने, केन्द्रीय सदस्य तथा सल्लाहकार राजेश कर्ण, सल्लाहकार अवधेश झा लगायतको विशेष उपस्थिति रहेको थियो ।