आकर्षक रोजगारीको झुटो आश्वासनमा भारतका विभिन्न स्थानमा बन्धक बनाइएका ५७ नेपालीलाई भारतबाट उद्धार गरी नेपाल ल्याइएको छ । भारतको उत्तराखण्डस्थित काशीपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवक उद्धार लगत्तै अन्य २२ नेपालीको आइतबार साँझ उद्धार गरिएको थियो । बुधवार पश्चिमी नाका गड्डाचौकीबाट उनीहरूलाई स्वदेश ल्याइएको हो ।
नयाँदिल्लीस्थित नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा उत्तराखण्डको विभिन्न ठाउँमा अमानवीय रूपमा बन्धक बनाइएका उनीहरूको उद्धार भएको हो । गड्डाचौकी नाका भएर स्वदेश ल्याइएका नेपालीहरूलाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआइजी डम्बरबहादुर विकलगायतले स्वागत गरे । उद्धार गरिएकाहरूलाई बिहीवार(आज) आ–आफ्नो घर फिर्ता गराइनेछ ।
भारत पुगेका यी युवाहरूलाई विभिन्न ठाउँमा महिनौँसम्म बन्धक बनाएर अमानवीय व्यवहार गरिएको थियो। उद्धार गरिएका व्यक्तिहरू चितवनका १० जना, कैलालीका ९ जना, सुनसरीका ५ जना, पाँचथर, तेह्रथुम, उदयपुरका ४/४ जना, दाङ, स्याङ्जा, बाँकेका ३/३ जना, डोटी, ताप्लेजुङ, धादिङका २/२ जना, सर्लाही, कास्की, रुकुम, बागलुङ, इलाम, रुपन्देहीका १/१ जना छन् ।
गत बिहीबार र आइतबार नेपाली राजदूतावास, भारतीय प्रहरी र किन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीको अगुवाइमा ती नेपालीहरूको उद्धार गरिएको थियो । जोशीका अनुसार आइतबार राती उद्धार गरिएका २२ जना मध्ये ९ जना नाबालिग छन् । अन्य १८ वर्षमाथिका नेपाली छन् । उनीहरूलाई जंगल क्षेत्रबाट भगाउँदै गर्दा उद्धार गरिएको जोशीले जानकारी दिए ।
बन्धक बनाउन सक्रिय गिरोहले उद्धारका लागि भारतीय प्रहरी, किन नेपालको उद्धार टोली आउँदै गरेको सूचना पाएपछि भागेको र बाँकी बन्धक बनाइएका नेपालीहरूलाई घर सारेर राखिरहेको जोशीले बताए । उद्धार गरिएको नेपालीहरूको टोली लिएर किन इन्डियाका निर्देशक जोशीसहितको टोली नाकामा आएको हो । भारतमा अन्य पाँच सय बढी बन्धक बनाएको डाटाहरू आफूलाई प्राप्त भएको पनि जोशीले जानकारी दिए ।
किन इन्डियाका निर्देशक जोशीका अनुसार गिरोहले सोझा नेपालीहरूबाट ४० देखि ७० हजार रुपैयाँसम्म असुल्ने गरेको बताए । ‘यसरी गलत व्यक्ति र मानव तस्करहरूमार्फत महिनामा ५० जना नेपालीहरू भारतका विभिन्न ठाउँमा पुर्याइने गरेको हामीले पत्ता लगाएका छौँ,’ उनले भने । आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाका युवालाई भारत बोलाएर बन्दी बनाउने गरिएको छ । उनीहरूलाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम असुली गर्ने गरिन्छ ।
जोशी विगत डेढ दशकदेखि भारतको दिल्लीमा बसेर मानव बेचबिखनविरुद्धको अभियानमा सक्रिय रहँदै आएका छन् । नेपालका गाउँहरूबाट भारतका विभिन्न सहर र तेस्रो मुलुक जाने क्रममा दलालबाट ठगिएका, बेचिएका वा अलपत्र पारिएकाहरूलाई जोशीको नेतृत्वको संस्थाले उद्धार गर्दै आइरहेको छ ।