रौतहट, असार १५ । नेपाल किसान महासंघ रौतहट जिल्ला कार्य समितिले गौर नगरपालिकामा असार १५ को अवसरमा धान रोपाई कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। गौर नगरपालिका वडा नं. ४ स्थित सोबर्णामाईको प्राङ्गणमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस मधेस प्रदेशका सभापति तथा पूर्व मन्त्री कृष्ण प्रसाद यादव प्रमुख अतिथिको रूपमा सहभागी भए।
कार्यक्रममा मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादव 'जितेन्द्र' तथा प्रदेश सांसद नागेन्द्र साह विशिष्ट अतिथि थिए। कार्यक्रम नेपाली कांग्रेस नगर कार्य समिति गौरको समन्वयमा आयोजना गरिएको हो।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि कृष्ण प्रसाद यादवले नेपाली कांग्रेस सधैँ किसानको हक अधिकारको पक्षमा उभिँदै आएको स्मरण गराउँदै वर्तमान कृषकको जीवनस्तर उकास्न दीर्घकालीन सोच र योजनासहित पार्टी अगाडि बढिरहेको बताए। उनले जलवायुमैत्री प्रविधि, आधुनिक खेती प्रणाली र अनुसन्धानमार्फत धान, मकैजस्ता खाद्यान्न बालीको उत्पादन बढाउन प्रदेश सरकारले ठोस नीति लिनुपर्नेमा जोड दिए।
पूर्व भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका यादवले प्रदेशमा कांग्रेस नेतृत्वमा कृषि मन्त्रालय रहेको सन्दर्भ उल्लेख गर्दै उन्नत बीउ, गुणस्तरीय मल र सिँचाइ पहुँच वृद्धि गर्न नीति कार्यक्रममार्फत आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए। उनले सम्पूर्ण कृषकहरूलाई धान दिवसको अवसरमा शुभकामना दिँदै उनीहरूको मेहनत राष्ट्रको मेरुदण्ड भएको बताए।
कार्यक्रममा अर्थमन्त्री सुनिल यादवले कृषकको पीरमर्का हटाउन सरकार प्रतिवद्ध रहेको जनाउँदै आवश्यक बजेट व्यवस्थापनमा अझ प्रभावकारी भूमिका खेल्ने आश्वासन दिए। आफू पनि कृषक परिवारमा हुर्किएको बताउँदै उनले किसानको समस्यासँग आफू नजिक रहेको र त्यसको समाधानमा सधैँ लागिपर्ने दृढता व्यक्त गरे।
कार्यक्रममा गौर नगर कांग्रेस सभापति मोहन यादव, नेतृ डा। शाहजहाँ खातुन, युवा नेता मिथलेश मिश्रा, मनोज यादव लगायत कांग्रेसका जिल्ला तथा नगर तहका नेता कार्यकर्ताहरू, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा रोपाइँका साथै कृषिमा आधुनिक प्रविधिको प्रयोग, किसानको अधिकार संरक्षण तथा कृषि अनुदान कार्यक्रमबारे समेत जानकारी दिइएको थियो।