वीरगन्जस्थित होटल भिस्वामा मङ्गलबार सिर्सिया नदीको प्रदूषणसम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। उद्योग विभाग पर्सा र जिल्ला प्रशासन कार्यालय पर्साको सह–आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सिर्सिया नदीबारे धेरै छलफलहरू भइसकेको तर अब परिणाममुखी काम गर्नु अत्यन्त जरुरी रहेको बताए। उनले स्थानीय सरकार, प्रहरी प्रशासन, उद्योगी–व्यवसायी, सञ्चारकर्मी लगायत सबै सरोकारवालाहरूले सिर्सियाको संरक्षणका लागि गम्भीर भएर कदम चाल्नुपर्नेमा जोड दिए।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख वसन्त अधिकारी, पर्साका प्रमुख गणेश अर्याल, वीरगन्ज उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरि गौतम, सञ्चारकर्मी धनञ्जय मिश्र, प्रणय साह, समाजसेवी कमल चौगाई, प्रकाश खेतान लगायतले सिर्सिया नदीको संरक्षण र प्रदूषण नियन्त्रणमा सहकार्य र प्रतिबद्धताको खाँचो औंल्याए।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङ, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्साल, उद्योगी, सञ्चारकर्मी, समाजसेवीसहित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सिर्सिया नदी प्रदूषण नियन्त्रणमा नीति, कार्यान्वयन, अनुगमन र जनसहभागिता आवश्यक रहेको निष्कर्ष निकालिएको छ। कार्यक्रमका सहजीकरण सञ्चारकर्मी सूर्य नारायण विकले गरेका थिए ।