वीरगञ्ज–१३ स्थित गौतम माध्यमिक विद्यालयले एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ। ४ जीपीए ल्याउने गौतम स्कुलका जोया हवारी, दिपाशा रौनियार र आरभ चौरसियालाई प्रमुख अतिथीले सम्मान गरेका थिए । उनीहरुले एसईई परीक्षामा ४ जीपीए ल्याउँदै राष्ट्रिय स्तरमै उत्कृष्ट गरेका छन । विद्यालयले ती तीनैजना विद्यार्थीलाई पुरस्कार स्वरूप ल्यापटप प्रदान गरेको छ ।
कार्यक्रम विद्यालयका प्रिन्सिपल गणेश क्षेत्रीको अध्यक्षता एवं वीरगञ्ज महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख आनन्द लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा वडा नंम्बर १३ का अध्यक्ष हिरा गिरी, गौतम स्कुलका डाइरेक्टर सोनम लामा,म्यानेजिङ डाइरेक्टर परिक्षापिया लामा, मानवसेवा आश्रम वीरगञ्जका संस्थापक सदस्य देवेश गुप्ता, एलाइड युथ सोसाइटीका ओम कुमार झा, समाजसेवी मनिष सिंह, अभिभावक र पत्रकारहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामिछानेले वीरगञ्जमा शिक्षाको गुणस्तर दिनानुदिन सुधार भइरहेको उल्लेख गर्दै विद्यार्थी, अभिभावक र शिक्षकबीचको सहकार्य अझ आवश्यक रहेको बताए।
उनले भने, “जुन विद्यार्थीको विद्यालय र शिक्षकप्रति सकारात्मक सोच हुन्छ, उनीहरू जीवनमा अगाडि बढ्छन्। तर जो सामाजिक सञ्जालमा दिनको २ घण्टाभन्दा बढी समय बिताउँछन्, उनीहरू शैक्षिक दृष्टिले पछि पर्न सक्छन्।”
विद्यालयका अनुसार अहिलेसम्म २८ जना विद्यार्थीहरू जिल्ला टपर भएका छन्। यस्तो उपलब्धि वीरगञ्जको शिक्षा क्षेत्रमा गौरवको विषय बनेको छ।विद्यालयले आगामी दिनहरूमा विद्यार्थीको क्षमता अभिवृद्धि, प्रविधिमैत्री शिक्षा र गुणस्तरीय शिक्षामा अझ लगानी गर्ने जनाएको छ। कार्यक्रमको सञ्चालन शिक्षक सौराभ प्रधानले गरेका थिए ।