वीरगंज मेनरोड क्षेत्रमा प्रस्तावित सडक विस्तारको नाममा स्थानीय घरधनी र व्यापारीहरूलाई विस्थापन गर्न खोजिएको भन्दै “वीरगंज बचाऊ संघर्ष समिति” र “वीरगंज युवा तथा व्यापारी सडक पीडित संघर्ष समिति” संयुक्त रूपमा सक्रिय भएका छन्। सोही सन्दर्भमा बिहिबार वीरगंजस्थित रानीसती अतिथि सदनमा विरोध कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रम वीरगंज बचाऊ संघर्ष समितिका अध्यक्ष जवाहर गुप्ताको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन वीरगंज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिका अध्यक्ष कुन्दन रौनियारले गरेका थिए। कार्यक्रममा गोपाल केडिया, वीरगंज महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जयप्रकाश अग्रवाल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी अधिकांश वक्ताहरूले विकासको नाममा हुने अन्याय र जबर्जस्तीको विरोध गरे। विशेष गरी वीरगंज मेनरोड क्षेत्रका घरधनी तथा व्यापारीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमले सरकारलाई स्पष्ट सन्देश दिएको छ विकास जनमुखी हुनुपर्छ, विनाशकारी होइन।
संघर्ष समितिले शुक्रबार बिहान ११ बजेसम्म वीरगंज बजार पूर्ण रूपमा बन्द गर्ने निर्णय लिएको छ। यस बन्द कार्यक्रममार्फत जनताको आक्रोश र चिन्ता सार्वजनिक रूपमा देखाउने तयारी गरिएको जनाइएको छ।
उक्त कार्यक्रमका अध्यक्ष जवाहर गुप्ताले वीरगंज महानगर प्रमुखप्रति कडा चेतावनी दिँदै भने हामीलाई स्टन्टबाजी गरेर झुक्याउने प्रयास नगरियोस्। जनता सबै बुझिरहेका छन्। विकासको नाममा दोहोरो भूमिका खेल्न पाइँदैन।
उनले वीरगंज महानगरमा निर्णय प्रक्रिया अपारदर्शी र स्वार्थप्रेरित रहेको आरोप लगाउँदै जनताको आँखामा छारो हाल्ने काम बन्द गर्न माग गरे।
वीरगंजको भौतिक विकास आवश्यक भए पनि त्यसले जनताको मौलिक अधिकारमाथि चोट पुर्याउने गरी अघि बढ्नु स्वीकार्य नहुने सन्देश आजको कार्यक्रममा स्पष्ट रूपमा व्यक्त गरिएको छ। संघर्ष समितिहरूले चेतावनी दिएका छन् ।यदि आवाज नसुने उचित परिणामहरू पनि भोग्न तयार रहनु पर्नेछ।
