दिपेन्द्र जयसवाल
बाराको बारागढी गाउँपालिका अब पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको अवस्थामा प्रवेश गरेको छ। गाउँपालिका स्वास्थ्य शाखा, खोप शाखाको आयोजनामा शनिबार गाउँपालिकाको सभाहलमा आयोजित विशेष समारोहबीच यो घोषणा गरिएको हो।
समारोहमा गाउँपालिकाका अध्यक्ष अशोक कुमार जयसवालको अध्यक्षता तथा उपाध्यक्ष लक्ष्मी देवी रायको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। अध्यक्ष जयसवालले ब्यानर पढेर औपचारिक उद्घाटन गरेपछि, प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता प्राप्त पालिकाको रूपमा घोषणा गरिएको हो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार चौधरी, वडा नं. २ का वडाध्यक्ष जोगिन्द्र साह कलवार, वडा नं. ३ का वडाध्यक्ष उमेश प्रसाद साह, वडा नं. ६ का वडाध्यक्ष मैनेजर चौधरी, जनस्वास्थ्य निरीक्षक विनोद प्रसाद चौधरी, स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश चौधरी, गाउँपालिकाभित्रका सबै वडाहरूका स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, जनप्रतिनिधि, संचारकर्मी, तथा विभिन्न शाखाका प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत चौधरीले राखेका थिए भने कार्यक्रमको सञ्चालन योजना तथा अनुगमन शाखाका प्रमुख रञ्जित कुमार साहले गरेका थिए।
गाउँपालिकाले खोपको पहुँच र दिगोपनाका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै सहभागीहरूले प्रशंसा व्यक्त गरेका थिए।