काठमाडौँ– अमेरिकाको टेक्सास राज्यमा मुसलधारे वर्षाका कारण आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५० पुगेको छ ।
उद्धारकर्मीले हराइरहेका २७ जना बालिकाको खोजी जारी गरिरहेका छन् । मध्य टेक्सासमा समुदायहरूमा पानी बढेपछि धेरै आकस्मिक बाढीको चेतावनी जारी गरिएको छ, ग्वाडालुप नदी बाढीका कारण मात्र ४५ मिनेटमा २६ फिट (आठ मिटर) ले बढेको थियो ।
केर काउन्टीको ग्रीष्मकालीन शिविरमा सयौँ मानिस बसिरहेका समय आएको बाढीका कारण ठूलो सङ्ख्यामा मानवीय हताहत भएको हो । बाढीप्रभावित क्षेत्रका शेरिफ ल्यारी लेइथाले भन्नुभयो, “हामीले केर काउन्टीमा ४३ जना मृतकलाई उद्धार गरेका छौँ । तीमध्ये २८ जना वयस्क र १५ जना बालबालिका छन् ।”
अन्य काउन्टीहरूमा पनि बाढीको असर परेको र धेरै पीडितहरू फेला परेका छन् । बाढीका कारण अहिलेसम्म (आइतबारसम्म) मृत्यु हुनेहरूको सङ्ख्या ५० पुगेको छ ।
टेक्सास डिपार्टमेन्ट अफ इमर्जेन्सी म्यानेजमेन्टका प्रमुख निम किडले वायु, स्थल र जल सेनाले ग्वाडालुप नदीको किनारमा वेपत्ताहरूको खोजी कार्य जारी राखेका छन् ।
उहाँले भन्नुभयो, “बेपत्ता भएका सबै नभेटिँदासम्म उनीहरूको खोजी जारी रहनेछ ।”
टेक्सासका गभर्नर ग्रेग एबोटले आफूले राज्यको विपद् घोषणालाई विस्तार गरिरहेको र राष्ट्रपति डोनाल्ड ट्रम्पसँग थप सङ्घीय स्रोतको अनुरोध गरिरहेको बताउनुभएको छ ।
उपराष्ट्रपति जेडी भान्सले शनिबार उक्त विपत्तिलाई ’नबुझिने खालको त्रासदी’ को संज्ञा दिनुभएको छ ।