काठमाडौं। आज देशभर हरिशयनी एकादशी विविध धार्मिक अनुष्ठानसहित श्रद्धापूर्वक मनाइँदैछ। आषाढ शुक्ल पक्षको एकादशी तिथिमा पर्ने यो पर्वले चतुर्मासको प्रारम्भसमेत जनाउने धार्मिक विश्वास छ।
धार्मिक परम्पराअनुसार आजदेखि भगवान विष्णु क्षीरसागरमा शयन गर्न जानुहुन्छ र चार महिनासम्म योगनिद्रामा रहनुहुन्छ। यही अवधिलाई चतुर्मास भनिन्छ, जसलाई आत्मशुद्धि, उपवास, तपस्या र धार्मिक अनुशासनको समयका रूपमा मानिन्छ।
यस दिन घरघरमा तुलसीको बिरुवा रोप्ने परम्परा छ। विष्णुको अति प्रिय वनस्पति मानिने तुलसी रोप्दा घरमा शान्ति, समृद्धि र स्वास्थ्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
आजको दिन व्रत बस्ने, तुलसी रोप्ने, विष्णु पूजन गर्ने, भजन–कीर्तन गर्ने परम्परा कायमै छ। मठमन्दिरहरूमा विशेष पूजाआजा, प्रवचन र भजन कार्यक्रम आयोजना हुँदै छन्।
हरिशयनी एकादशीसँगै सुरु हुने चतुर्मास अवधिभर साधु–सन्तहरू यात्रामा ननिस्कने र एकै स्थानमा बस्ने परम्परा समेत पालना गरिन्छ। यस्तै, यस अवधिमा विवाह, ब्रतबन्ध, गृहप्रवेशजस्ता शुभकार्यहरू नगर्ने धार्मिक मान्यता छ।
धार्मिक वृत्तका अनुसार आजको दिनले आध्यात्मिक अनुशासन, प्रकृतिप्रति सम्मान र जीवनशैलीको परिष्कार गर्न प्रेरणा दिन्छ।