बीरगंज, पर्सा – बीरगंज महानगरपालिका–२४, रामगढवामा रहेको ज्ञान्दा एकेडेमी स्कुलमा शुक्रबार नयाँ विद्यार्थी नेतृत्व चयन, हेडगर्ल र हेडबोयलाई ब्याच वितरण तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम विद्यालयका सञ्चालक सन्दीप तुल्सियानको अध्यक्षता तथा पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एसपी मिश्रले नेतृत्व विकास विद्यालयस्तरबाट सुरु हुने उल्लेख गर्दै ूआजका विद्यार्थी नै भोलिका असल नागरिक हुन् भन्दै जिम्मेवार नेतृत्व विकासका लागि उत्कृष्ट शिक्षा र अनुशासनको खाँचो रहेको बताए। उनले ब्याच प्राप्त विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको आगामी नेतृत्व सफल होस् भन्ने शुभकामना व्यक्त गरे।
यसै क्रममा बीरगंज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले हालैको एसईई परिणाम सन्तोषजनक नभएको उल्लेख गर्दै निजी र सामुदायिक विद्यालयबीच सहकार्य गरी गुणस्तर सुधार गर्नु पर्ने आवश्यकता औंल्याए। उनले ज्ञान्दा एकेडेमीले भौतिक पूर्वाधारदेखि शिक्षकको दक्षतासम्मको क्षेत्रमा गरेको लगानी र प्रयास प्रशंसनीय भएको बताए।
विद्यालयका प्रिन्सिपल डा. राजेन्द्र प्रसाद कोइरालाले स्वागत मन्तव्य दिँदै आगामी शैक्षिक सत्रदेखि प्लस २ पछि उच्च शिक्षाको कक्षा सञ्चालन गरिने योजना रहेको जानकारी गराए।
कार्यक्रममा सोहेल पोदार, राप्रपाका नेता जगरनाथ कुर्मी, सुन्ध्या वशिष्ठ शिक्षक, शिक्षिका, अभिभावक, विद्यार्थी, पत्रकार लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण बिज्ञान शिक्षिका सुजाता शर्माले गर्नुभएको थियो।