वीरगंज महानगरपालिका वडा नम्बर १० मा चापाकल सुकेर उत्पन्न भएको गम्भीर पानी संकटबीच नेकपा एमालेका युवा नेता तथा वडाध्यक्ष पदका उम्मेदवार अजय कुमार गुप्ताले निःशुल्क पानी वितरणको कार्य निरन्तरता दिएका छन्।
पानीको अभावलाई मध्यनजर गर्दै गुप्ताले पोखरीया नगरपालिका र सखुवा प्रसौनी गाउँपालिकाबाट दमकलमार्फत पानी ट्याङ्कीमा भरेर, घरघरमै पुगेर स्थानीय बासिन्दाहरुलाई पानी वितरण गर्दै आएका छन्।
उनले भने, “कोही पनि प्यासै बस्न नपरोस् भन्ने सोचले यो सेवा सुरु गरेको हुँ। संकटकालीन अवस्थामा सानो सहयोगले पनि ठूलो राहत दिन सक्छ भन्ने विश्वासले यो अभियान थालेको हुँ।”
वीरगंजमा केही महिनादेखि सार्वजनिक र निजी स्रोतहरू सुकेर पानीको समस्या दिनप्रतिदिन गहिरिँदै गएको छ। यस संकटको समयमा गुप्ताको पानी वितरण सेवा स्थानीय बासिन्दाका लागि जीवनदायिनी सावित भएको छ।
यस अभियानमा समाजसेवी गुप्ताको पहलमा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले दमकल उपलब्ध गराई सहयोग पुर्याएका छन्। यादवले मानवीयताको दृष्टिले यस्तो सहयोगी कार्यमा साथ दिन पाउँदा गर्व लागेको प्रतिक्रिया दिएका छन्।
गुप्ता आफैं टोलटोलमा पुगेर घरदैलोमै पानी वितरण गरिरहेका छन्, जसले गर्दा सेवा सबै वर्ग र समुदायसम्म निष्पक्षरूपमा पुगेको छ। पानी वितरणमा केही वडाहरूमा पक्षपात हुने गुनासो आइरहे पनि गुप्ताले सबै नागरिकलाई प्राथमिकतामा राखेर सेवा पुर्याउनु उल्लेखनीय रहेको स्थानीयहरूले बताएका छन्।
स्थानीय बासिन्दाहरूले गुप्ताको यस कार्यलाई “जीवनदायिनी सेवा” भन्दै प्रशंसा गरेका छन्। सामाजिक सञ्जालमा समेत उनलाई धन्यवाद र समर्थन जनाउनेहरूको संख्या दिनप्रतिदिन बढ्दो छ। यसरी उनले आफ्नो वडा मात्र नभई अन्य वडाहरूमा समेत उदाहरणीय सेवा कार्य गर्दै आएका छन्।
पानी संकट समाधान नभएसम्म समाजसेवी गुप्ताले सेवा निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएका छन्।साथै, कोरोना महामारीको समयमा पनि गुप्ताले कोरोना संक्रमितहरूलाई पुर्याएको सहयोग स्मरणीय रहेको स्थानीयवासीले सम्झिएका छन्।
