वीरगंज महानगरपालिका–५ मा वडावासीको दीर्घकालीन खानेपानी समस्याको समाधान गर्न ‘साझा उपभोक्ता समिति–५’ गठन गरिएको छ।
बोरिङबाट वितरित पानीमा केही व्यक्तिहरूले व्यक्तिगत स्वार्थका लागि मोटर जडान गरी अत्यधिक पानी तान्ने गरेपछि अन्य सेवाग्राहीहरू पानीबाट वञ्चित हुने अवस्था आएको जनगुनासो बढ्दै गएको थियो। यस समस्याको हल खोज्न वडा कार्यालयको पहलमा यो समिति गठन गरिएको हो।
गठित समितिको अध्यक्षता वडा अध्यक्ष प्रदीप कुमार चौरसियाले गरेका छन् भने संयोजनमा समाजसेवी जोगेन्द्र महतो रहेका छन्। समितिमा सन्तोष खनाल, सुशील वर्णवाल, सुमन राणा, मनोज साह र सञ्जु दहाल सदस्यका रूपमा संलग्न छन्।

आज वडा कार्यालय, नगर प्रहरी र साझा उपभोक्ता समितिको संयुक्त टोलीले घरदैलो जनचेतना अभियान सञ्चालन गर्यो। यस अभियान अन्तर्गत वडाका विभिन्न टोलमा गएर बासिन्दालाई पानी तान्न मोटर नजडान गर्न अपिल गरियो।
मोटर हटाउने अभियान, सामाजिक जरिवाना लागु कार्यक्रमको क्रममा अवैध रूपमा मोटर जडान गरेका केही घरहरूबाट तत्काल मोटर हटाइयो। अबदेखि पुनः त्यस्तो पाइएमा समिति र वडा कार्यालयले सामाजिक दण्ड तथा जरिवाना को प्रक्रिया अघि बढाउने स्पष्ट चेतावनीसमेत दिइएको छ।
वडा अध्यक्ष प्रदीप कुमार चौरसियाको भनाइको भनाई खानेपानी जनताको आधारभूत आवश्यकता हो। केही व्यक्तिको व्यक्तिगत लाभका लागि सिंगो समाज पिरोलिनु हुँदैन। मोटर जडान गरेर अरूलाई पानी नपर्ने गरी गर्ने कार्य अत्यन्त निन्दनीय छ।
अहिलेको गर्मीको मौसममा पानीको माग उच्च छ, त्यसैले हामीले साझा उपभोक्ता समिति गठन गरेर पानी वितरणलाई समानुपातिक र पारदर्शी बनाउन लागिपरेका छौं।
यदि कसैले हाम्रो चेतावनी बेवास्ता गर्यो भने, हामी कठोर कदम चाल्न बाध्य हुनेछौं।यस अभियानमा नगर प्रहरी, समिति सदस्य र आम जनता सबैको सहकार्य आवश्यक छ। यो जनसहभागिताको माध्यमबाट समस्या समाधान गर्ने हाम्रो प्रयास हो।ू
यस अभियानबाट वडा नम्बर ५ का बासिन्दाहरूले समुचित र समान पहुँचमा खानेपानी प्राप्त गर्ने वातावरण बन्ने विश्वास गरिएको छ।अधिकारीहरूले आगामी दिनमा यो समिति मार्फत पानीको व्यवस्थापन, अनुगमन र समस्या समाधान निरन्तर गरिने जानकारी दिएका छन्।