काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ कुन्तास्थित नालदूम भिलेज रिसोर्ट र ग्रीन पिस रेस्टुरेन्टबाट अनलाइन सट्टेबाजी ९जुवा० मा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट १८ थान मोबाइल र पाँच थान ल्यापटप बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट खटिएको टोलीले साउन ३० गते दिउँसो छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाह ले जानकारी दिए। पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका–८ इमाटोलका ३२ वर्षीय दिगज नकर्मी, भक्तपुर नगरपालिका–४ कमल बिनायकका २८ वर्षीय संजीव कुशी र २४ वर्षीय रोशन प्रजापति, सूर्यविनायक नगरपालिका–७ कटुन्जेका २९ वर्षीय एलिस कुश्म, र काठमाडौं महानगरपालिका–१६ शान्तीनगरका ३१ वर्षीय रोजन महर्जन रहेका छन्।
प्रहरीले दिएको जानकारीअनुसार, गोप्य सूचनाका आधारमा होटलमा अनलाइनमार्फत जुवा खेलाउने गतिविधि भइरहेको भन्ने जानकारी पाएपछि अनुसन्धानका लागि पुगेको प्रहरी टोलीले घटनास्थलबाट १८ थान मोबाइल फोन, पाँच थान ल्यापटप र सट्टेबाजीसम्बन्धी विभिन्न सामग्रीहरू बरामद गरेको छ।
प्रारम्भिक अनुसन्धानबाट उनीहरूले रिसोर्टको कोठा भाडामा लिएर अनलाइन एप्स र वेबसाइटमार्फत खेलाडीहरूलाई व्यवस्थापन गर्ने काम गर्दै आएको खुलेको छ। प्रहरी प्रमुख शाहले भने, “मुख्य व्यक्ति को हो भन्ने पहिचान भएको छैन, करोडभन्दा बढीकै कारोबार भको देखिन्छ। त्यससँग सम्बन्धित एक्सपर्टलाई बोलाएका छौं, घटनास्थलबाट बरामद १८ थान मोबाइल फोन, ५ थान ल्यापटप र सट्टेबाजीसम्बन्धी विभिन्न सामग्रीहरू अनुसन्धान गरेपछि थप कुरा खुल्ला।“
प्रहरीले पक्राउ परेका व्यक्तिहरू र बरामद सामग्रीसहितको तस्बिरसमेत सार्वजनिक गरेको छ।