काठमाडौं । अमेरिकाले रूसविरूद्ध लड्न युक्रेनलाई लामो दूरीका शक्तिशाली हतियार दिने तयारी गरेको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति शान्तिका तयार नभएपछि अमेरिकाले रूसविरूद्ध कडा नीति अवलम्बन गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग फोन वार्ता गरेका छन् । वार्तामा ट्रम्पले “तिमीहरू मस्को हान्न सक्छौ ? सेन्ट पिटर्सबर्ग पनि ?” ले भनेर सोधेको फाइनान्सियल टाइम्सले जनाएको छ । यसले अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा हलचल सृजना गरेको छ ।
उक्त संवाद ट्रम्पले पुटिनसँगको ‘निराशाजनक’ कुराकानीपछि जुलाई ४ का दिन भएको बताइएको छ । एफटीको रिपोर्टअनुसार जेलेन्स्कीले त्यसमा जवाफ दिँदै भने, “पक्कै पनि सक्छौँ, यदि तपाईंहरूले हामीलाई त्यो किसिमको हतियार दिनुभयो भने ।”
यद्यपि, ट्रम्पले पछि सार्वजनिक रूपमा स्पष्ट गरे, “मस्कोलाई लक्षित गर्नु उपयुक्त हुँदैन र मैले कुनै पक्षको समर्थन गरेको छैन, केवल युद्ध रोक्ने प्रयास गरिरहेको छु । म कसैको पक्षमा छैन, मेरो उद्देश्य हो — हत्या रोक्ने ।”
युक्रेनलाई थप सैन्य सहयोगका लागि ट्रम्पले हालै नाटोसँग एक नयाँ सम्झौता घोषणा गरेका छन्, जसमा Patriot मिसाइल प्रणालीसहित ‘पूर्ण सैन्य क्षमताको’ हतियार आपूर्ति समावेश हुनेछ । अमेरिकी अधिकारीका अनुसार उक्त सहयोगमा लामो दूरीको आक्रमण क्षमता भएका मिसाइलहरू पनि समावेश हुनसक्नेछ, जसले युक्रेनलाई रुसी भित्रका सैन्य संरचनामा आक्रमण गर्न सक्षम बनाउनेछ ।
ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई ५० दिनको समयसीमा दिएका छन्, यस अवधिमा शान्ति सम्झौता नभए रूससँग व्यापार गर्ने मुलुकहरूलाई १०० प्रतिशत महसुल लगाइने चेतावनी दिएका छन् ।
रुसी अर्थतन्त्र अहिले गम्भीर संकटको स्थितिमा पुगेको देखिएको छ । रूसका अर्थमन्त्रीले आफनो देश “मन्दीको नजिक” पुगेको स्वीकार गरेका छन् । युक्रेनी हमलाले पछिल्ला महिना रुसी भित्री सैन्य ठेगानाहरूमा क्षति पुर्याएका छन्, जसमा ‘अपरेसन स्पाइडरवेब’ अन्तर्गत आत्मघाती ड्रोनद्वारा करिब दर्जनभर बमवर्षक विमान नष्ट गरिएको थियो ।