वीरगञ्ज । वीरगञ्जसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा देखिएको खानेपानी संकट समाधानका लागि प्रदेश सरकार पूर्ण रूपमा क्रियाशील बनेको छ।
प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारसँग रहेका आठवटा वारुणयन्त्र बुधवार बिहान अति प्रभावित क्षेत्रहरूमा खानेपानी आपूर्ति गर्न खटाइएको छ।
मुख्यमन्त्री सतिशकुमार सिंहले जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने खानेपानी समस्या समाधानमा सरकार गम्भीर रहेको जनाउँदै ती वारुणयन्त्रहरू प्रभावित क्षेत्रतर्फ पठाएका हुन् ।
प्रत्येक वारुणयन्त्रको क्षमता ५ हजार लिटर रहेको छ, जसअनुसार एकपटकमा ४० हजार लिटर पानी आपूर्ति गर्न सकिनेछ। खानेपानी संकटग्रस्त क्षेत्रमा यी वारुणयन्त्रहरू २४ घण्टा निरन्तर परिचालित रहने छन् । यी वारुणयन्त्रहरू प्रदेश सरकारले व्यवस्थापन गर्नेछ भने नेपाली सेनाले सञ्चालन गर्नेछ ।
यसअघि पनि प्रदेश सरकारले वन कार्यालयका तीनवटा पानी ट्याङ्कर परिचालन गरी प्रभावित क्षेत्रमा आपूर्ति गरिसकेको छ। त्यसैगरी, नेपाली सेनामार्फत थप सातवटा ट्याङ्कर र एकवटा वारुणयन्त्र पठाउने तयारी भइरहेको छ।
मुख्यमन्त्री सिंहले भने, “सुक्खा र खानेपानी संकटका कारण समस्यामा परेका नागरिकहरूसँग प्रदेश सरकार दृढतापूर्वक उभिएको छ।”
उनले संघीय सरकार, स्थानीय तह तथा मानवीय सहायता प्रदान गर्ने दातृ निकायहरूसँग सहकार्य गर्दै प्रदेश सरकारले सबै साधन–स्रोतको अधिकतम उपयोग गरेर नागरिकको समस्या समाधानमा कार्यरत रहेको स्पष्ट पारे ।
यसअघि मंगलबार मधेश प्रदेशका मुख्यमन्त्री सिंह र संघीय खानेपानी मन्त्री प्रदीप यादवले सँग भेटघाट गरेका थिए । भेटवार्तामा संघीय र प्रदेश सरकारका उपलब्ध साधन, स्रोत र संरचनाको अधिकतम प्रयोग गरिने र खानेपानीसम्बन्धी सशर्त योजनाहरूलाई तत्काल कार्यान्वयनमा ल्याइने सहमति भएको छ ।
मन्त्री यादवले खानेपानी समस्या समाधानका लागि सरकार जनताको साथमा दृढतापूर्वक खडा रहेको बताउँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी तत्काल प्रभावकारी कदम चालिने प्रतिबद्धता जनाए। उनका अनुसार सरोकारवाला निकायहरूलाई आवश्यक निर्देशन दिइसकिएको छ ।
भेटमा मधेश प्रदेशका ऊर्जा, सिंचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, संघीय खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठसहित दुबै पक्षका विज्ञ र कर्मचारीहरूको उपस्थिति थियो ।