काठमाडौं– चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामग्री तथा स्वास्थ्य परीक्षण उपकरण सहयोग गरेको छ ।
नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ द मिसन वाङ झिनले राखेप सदस्यसचिव टंकलाल घिसिङलाई अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रममा सामग्री हस्तान्तरण गरेका थिए । युनान प्रादेशिक खेलकुद ब्युरोले करिब ८५ लाख रुपैयाँ बराबरको विभिन्न ३४ प्रकारका सामग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै राखेप उपाध्यक्ष ध्रुव आचार्यले सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिँदै सामाग्रीले खेलाडीको प्रशिक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सदस्यसचिव टंकलाल घिसिङले नेपाल र चीनबीच धेरै क्षेत्रमा राम्रो सम्बन्ध स्थापित भएको बताउँदै हरेक वर्ष सहयोगले निरन्तरता पाउने प्रतिबद्धता पाएको बताए ।
सदस्य–सचिव घिसिङले २०औं एसियाली खेलकुद आउन १३ महिना मात्र बाँकी रहेकाले यो समय पेचिलो भएको बताउँदै दृढ संकल्पकासाथ प्रशिक्षण अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले अबको दुई हप्ताको अवधिमा मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका खेलाडीको शारीरिक र खेलगत अवस्थाको परीक्षण गरिने बताउँदै त्यसपछि खेल संघसँग समन्वय गरी प्रशिक्षणलाई अगाडि बढाइने बताए ।
डेपुटी चिफ द मिसन वाङले सहयोगले नेपाली खेलकुदको विकासमा टेवा पुग्ने बताउँदै विगतमा पनि खेल क्षेत्रमा सहयोग गरेको स्मरण गरेका थिए । युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामचरित्र मेहताले चीन सरकारले विगतका दिनमा सहयोग गर्दै आएको बताए ।
कार्यक्रममा चिनियाँ दूतावासका कन्सुल वाङ दोङ, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपका सदस्य अञ्जन धमला, प्रकाशकुमार कुसारी र हिमालकुमार श्रेष्ठ, विभिन्न विभागका प्रमुख, मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका खेलाडी, प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो ।