वीरेन्द्रनगर : सुर्खेतमा प्रहरीले १३ लाख नक्कली नेपाली रूपैयाका नोट र ३० केजी अफिमसहित ५ जना पक्राउ गरेको छ । सुर्खेत प्रहरीले दुई दिनमा प्रहरीले १३ लाख नक्कली नोट र ३० किलो अफिमसहित ५ जना पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा जाजरकोटको जाजरकोट कुशे गाउँपालिका-५ बस्ने दिलमाया सिंह ठकुरी, खुर्पा बस्ने रामबहादुर सिंह, कुशे गाउँपालिका-७ समकोट गमौडी घर भइ हाल सुर्खेत भेरीगंगा नगरपालिका-१२ ठकुरीटोल स्थितमा डेरा गरी बस्ने कृष्णबहादुर वली, प्रेमबहादुर बि।क र कालीकोटको नरहरीनाथ गाउँपालिका घर भई बाँकेको कोहलपुर उपमहानगरपालिका -४ तथा नगरपालिका वडा नं ११. न्युरोडमा जनगर्जन नेटवर्क प्रा।लि नामक मिडिया संचालन गरी बस्ने मनबहादुर सहकारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी मोहनजंग थापका अनुसार सोमबार मात्र वीरेन्द्रनगर नगरपालिका वडा नं. १० शान्ति टोलबाट जाजरकोटकी दिलमायालाई खोटा मुद्रा नेपाली एकरएक हजारका ६ हजार फेला पारी पक्राउ गरिएको हो । सोमबार नै जाजरकोटका रामबहादुर र दिलमायाको डेरामा लुकाएर राखेको नेपाली एकरएक हजारका १२ लाख ३६ हजार बरामद भएको हो । जाजरकोटकै हाल भेरीगंगा नगरपालिका वडा नं. १२ ठकुरीटोल स्थिमा डेरा गरी बस्ने कृष्णबहादुर र प्रेमबहादुरको डेरा कोठा तथा शरीर खानतलासी गर्दा लुकाई छिपाई राखेको ११ पोका ११ किलोग्राम ३७२ मिलिग्राम अफिम फेलापारी बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो ।
यस्तै मंगलबार मात्र लागुऔषध (अफिम) तथा जाली नोट कसुरको थप अनुसन्धान गर्ने क्रममा प्रहरी टोलीले नक्कली नोटको कारोवार गर्ने नोट बनाउने तथा उक्त नोट बनाउने सामान समेतको कार्य कालीकोटका हाल बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ न्युरोडमा जनगर्जन नेटवर्क प्रालि नामक मिडिया सञ्चालन गरी बस्ने मनबहादुर सहकारीलाई पक्राउ गरेको छ ।
उनले सञ्चालन गरेको मिडिया हाउस तथा घरकोठा खानतलासी गर्दा नेपाली रुपैयाँ एक हजारका नोट ५१ थान ५१ हजार फेला परेको र प्लाष्टिकमा पोका बनाई राखेका १५ पोकामा १९ (उन्नाईस) के.जी. ३ सय ग्राम लागूऔषध अफिम बरामत गरेको छ । उनको कार्यालयबाट नक्कली नोट बनाउने क्यानोनको प्रिन्टर थान–१, सिपियु थान १, मनिटर १ थान, कि वोर्ड थान–१, माउस थान–१, कार्डडिटर र चिप्स मेमोरी थान–१, क्यनोनको क्यामेरा थान–१ समेत फेला पारी प्रहरीले बरामद गरेको छ । प्रहरीले उनीहरु बिरुद्ध लागूऔषध(अफिम), मुद्रा सम्बन्धि कसूर र संगठित अपराध कसूरमा मुद्धा चलाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमूख एसपी सुधिरराज शाहीले प्रहरीले यो समूहले लामो समयदेखि संगठित रूपमा नक्कली नोट निर्माण तथा लागूऔषध कारोबार गरिरहेको हुनसक्ने आशंकामा विस्तृत अनुसन्धान थालिएको बताए छ ।