जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी वरिष्ठ नायव निरीक्षक (सनि) सागर शमशेर जबरालाई असार महिनाको ‘पुलिस अफ दि मन्थ’ घोषणा गर्दै विशेष सम्मान प्रदान गरेको छ।
अपराध नियन्त्रण तथा अनुसन्धानमा सक्रिय रूपमा खटिँदै आएका जबराले विभिन्न गम्भीर अपराधहरूको सफल अनुसन्धान गर्दै संगठनको छवि उचो बनाउने कार्यमा उल्लेखनीय योगदान दिएका कारण उनलाई यो उपाधि प्रदान गरिएको हो।
धनुषा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीका अनुसार, सागरले चैत १७ गते लक्ष्मिनिया गाउँपालिका–५ मा श्रीमतीको हत्या गरी शव गाडेको आरोपमा पक्राउ परेका हरिराम यादवलाई नियन्त्रणमा लिन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
त्यसैगरी, असार १८ गते जनकपुरमा वासुदेव साहमाथि चक्कु प्रहार गरेर फरार भएका बेचन महासेठलाई खजुरी रेल्वे स्टेसनबाट पक्राउ गर्न सागरको सक्रियता देखिएको थियो।
एसपी रेग्मीका अनुसार, ठगी, विश्वासघात, आपराधिक लाभ र साइबर अपराधका फरार अभियुक्त हनिफ नदाफको पक्राउमा समेत सागरले उल्लेखनीय योगदान दिएका छन्।
सागर शमशेरको व्यावसायिक दक्षता, कर्तव्यप्रतिको निष्ठा र अनुसन्धान क्षमताले प्रहरी संगठनप्रतिको जनविश्वास बढेको बताउँदै एसपी रेग्मीले भने, “उनको समर्पणले समाजमा सकारात्मक सन्देश प्रवाह भएको छ।”
प्रहरी संगठनभित्र कर्तव्यनिष्ठ र उत्कृष्ट कार्य सम्पादन गर्ने व्यक्तिहरूलाई प्रोत्साहन गर्न ‘पुलिस अफ दि मन्थ’ घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।