काठमाडौं । अमेरिकाको अलास्का राज्यमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । स्थानीय समयअनुसार बिहीबार दिउँसो १२ः३७ बजे स्यान्ड पोइन्ट नगरबाट करिब ८७ किलोमिटर दक्षिणमा र सतहदेखि २०.१ किलोमिटर गहिराइमा केन्द्रबिन्दु बनाएर ७।३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ ।
भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको थियो । तर, पछि उक्त चेतावनी नेशनल सुनामी वार्निङ सेन्टरले फिर्ता लिएको छ । “दक्षिण अलास्का र अलास्का पेनिन्सुलाका तटीय क्षेत्रहरूका लागि जारी गरिएको सुनामी चेतावनी रद्द गरिएको छ,” सेन्टरले भन्यो ।
भूगर्भ सर्भेकाअनुसार शक्तिशाली धक्कापछि एक दर्जनभन्दा बढी पराकम्पनहरू गएका छन्, तीमध्ये सबैभन्दा शक्तिशाली ५।२ म्याग्निच्युडको थियो ।
स्यान्ड पोइन्टमा ६.१ सेन्टिमिटर अग्लो सानो सुनामी मापन गरिएको भए पनि अहिलेसम्म ठूला क्षति वा मानवीय हताहतीबारे रिपोर्ट नआएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सन् २०२३ को जुलाईमा पनि अलास्का पेनिन्सुला क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
मार्च १९६४ मा अलास्कामा ९.२ म्याग्निच्युडको भूकम्प आएको थियो, जुन उत्तरी अमेरिकामा हालसम्म मापन गरिएको सबैभन्दा शक्तिशाली भूकम्प हो । उक्त भूकम्पले एंकोरेज शहरलाई तहस–नहस बनाएको थियो । त्यसपछि आएको सुनामीले अलास्काको खाडी, अमेरिकाको पश्चिमी तट र हवाई क्षेत्रलाई व्यापक क्षति पुर्याएको थियो ।