वीरगञ्ज- वीरगञ्ज महानगरपालिका–८ मा रहेको लिटिल बड्डी प्रिस्कुलमा शुक्रबार एकदिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। किरण आँखा अस्पताल, वीरगञ्जको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरमा विद्यालयका १२० जना विद्यार्थी र १५ जना शिक्षक–कर्मचारीको दृष्टि परीक्षण गरिएको हो।
विद्यालयका प्रधानाध्यापक विजय कुमार बलका अनुसार बालबालिका र शिक्षकहरूको आँखाको अवस्था प्रारम्भमै पत्ता लगाई आवश्यक परामर्श दिने उद्देश्यले शिविर आयोजना गरिएको हो। “नियमित स्वास्थ्य परीक्षणमार्फत समग्र शैक्षिक तथा शारीरिक सुधारमा टेवा पुग्ने विश्वासका साथ यो पहल गरिएको हो,” उनले बताए।
शिविरमा किरण आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. मुस्कान गुप्तासहित कविता पोख्रेल, शोभा कटवाल, जयमाला चौधरी, रुबी मिश्र र रामबाबु चौरसिया जस्ता नेत्र सहायकहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूले दृष्टि परीक्षणसहित आवश्यक सुझाव र परामर्श उपलब्ध गराएका थिए।
डा. गुप्ताका अनुसार, केही बालबालिकामा सामान्य दृश्य कमजोरी देखिएको र अभिभावकलाई थप परीक्षण तथा उपचारका लागि सल्लाह दिइएको छ। “बाल्यकालमै समस्या पत्ता लागेमा भविष्यमा जटिल दृष्टि समस्याबाट जोगिन सकिन्छ,” उनले भनिन्।
शिविर सफल बनाउन सहयोग गर्ने सम्पूर्ण चिकित्सक टोली, शिक्षक, अभिभावक र विद्यार्थीप्रति प्रधानाध्यापक बलले आभार व्यक्त गरे। साथै, यस्ता स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने विद्यालयको योजना रहेको उनले स्पष्ट पारे।
विद्यालय प्रशासनको विश्वास छ — यस्ता कार्यक्रमले बालबालिकामा स्वास्थ्यप्रति चेतना बढाउनुका साथै शिक्षक र अभिभावकलाई पनि समयमै आवश्यक कदम चाल्न प्रेरणा दिन्छ।