इटहरी (सुनसरी)। संघीय खानेपानी मन्त्री प्रदीप यादवले नेपालमा रहेका कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट एवं प्रमुख उद्देश्य रहेको बताएका छन् ।
सुनसरीस्थित ‘झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजना’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारको प्रयास, खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोड्दै सबै समुदायलाई समान रूपमा सेवा पुर्याउने दिशामा केन्द्रित रहेको बताए ।
‘कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट उद्देश्य छ । देशका हरेक नागरिकको आधारभूत अधिकार सुरक्षित खानेपानी र सरसफाइ पहुँच सुनिश्चित गर्नु हाम्रो प्रमुख लक्ष हो,’ उनले भने ।
यसैगरी मन्त्री यादवले खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार गर्ने सरकारको प्रयास निरन्तर जारी रहेको बताउँदै झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजनाले विकासको सम्भावना र नागरिकको चाहनालाई मूर्तरूप दिने विश्वास व्यक्त गरे ।
मन्त्री यादवले देशका सबै समुदायलाई समान रूपमा सेवा पुर्याउने र कसैलाई पनि पछाडि नपार्ने नीति प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको दीर्घकालीन दृष्टिकोण भएकाले विकासमा समावेशी दृष्टिकोणलाई संस्थागत गरिने बताए ।
खानेपानी मन्त्रालय जनताको आधारभूत आवश्यकता पूरा गर्ने सेवा–उन्मुख सामाजिक मन्त्रालय रहेकाले आफुैले आफ्नो जिम्मेवारी सम्हालेदेखि नै हरेक नागरिकलाई शुद्ध र स्वच्छ खानेपानीको पहुँच पुर्याउने योजना अनुसार काम गर्न क्रियाशिल रहेको जानकारी गराए ।
‘हाम्रो सक्रियता र स्पष्ट परिकल्पना अनुरूप खानेपानी विभागको वित्तीय प्रगतिले ९० प्रतिशत उपलब्धि हासिल गरेको छ । जुन हाम्रो कार्यसम्पादन क्षमताको दिगो सुधारको स्पष्ट प्रमाण हो,’ उनले भने ।
आज उद्घाटन गरिएको उक्त खानेपानी आयोजनाबाट रामधुनी नगरपालिका झुम्का क्षेत्रका वडा नं. १, २, ३, र ५ का करिब २२ हजार ७८७ नागरिक र ४ हजार ३१ घरधुरीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने क्षेत्रीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इटहरी सुनसरीका प्रमुख महेसी महतोले जानकारी दिए
उनका अनुसार यो खानेपानी आयोजनाले स्वच्छ खानेपानी र सरसफाइको सुनिश्चिततामार्फत नागरिकहरूको स्वास्थ्य र जीवनस्तरमा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ ।