वीरगञ्जमा बढ्दो रक्त संकट समाधानका लागि गौतम समाज कल्याण संस्था र गौतम स्कुलको संयुक्त पहलमा आयोजित बृहत रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र वीरगञ्जको समन्वयमा सम्पन्न भएको हो।
‘एक घर, एक रक्तदाता’ भन्ने सन्देशसहित आयोजित अभियानले समाजमा रक्तदानप्रतिको चेतना विस्तार गर्ने र नियमित रक्तदानलाई संस्कार बनाउने उद्देश्य राखेको आयोजक संस्थाले जनाएको छ।
कार्यक्रम गौतम स्कुलको जुनियर विंगमा शनिबार सम्पन्न भएको थियो। प्रमुख अतिथि विद्यालयकी प्रबन्ध निर्देशक प्रिया लामा थिइन् भने स्थानीय जनप्रतिनिधि र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रह्यो।
कार्यक्रममा १५ जना महिलासहित ४५ जनाले रक्तदान गरे। रक्तदाताहरूमा प्रिया लामा, वीरगञ्ज–१० का वडाध्यक्ष सुशील कुमार कानु, रुक्मिणी चौधरी, देव सरन चौधरी थारु, उमाशङ्कर कुश्वाहा, देवराज न्यौपाने, अरविन्द कुमार चौधरी लगायतको सक्रिय सहभागिता रहेको थियो।
रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ राज पाण्डेले भने, “यदि हरेक घरबाट कम्तीमा एक जनाले रक्तदान गर्ने बानी बसाल्न सकियो भने उपचार अभावका कारण ज्यान गुमाउनु पर्ने अवस्था अन्त्य गर्न सकिन्छ।”
कार्यक्रममा राजन श्रीवास्तव, जितेन्द्र कुश्वाहा, विवेक यादव, नितेश साह लगायतले प्राविधिक सहयोग पुर्याएका थिए।
संस्थाका अनुसार, यो कार्यक्रम वीरगञ्जमा नियमित रूपमा देखिने रक्त अभावको समस्यालाई समाधान गर्न सामूहिक प्रयासको थालनी हो। साथै, अभियानले स्थानीय समुदायमा रक्तदानप्रतिको सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।