प्याब्सन बीरगंज महानगर कमिटी र जिल्ला कार्यसमितिको समन्वयमा कक्षा ११ र १२ मा अध्ययनका लागि परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई लक्षित गरी प्रदान गरिने छात्रवृत्ति कार्यक्रमको अन्तिम तयारी पूरा भएको छ। यही साउन १० गते परीक्षा हुने तय भएको छ।
प्याब्सन नगर कमिटीका अध्यक्ष राहुल श्रीवास्तवका अनुसार हालसम्म ४४६ विद्यार्थीले अनलाइन आवेदन दिइसकेका छन् भने यो संख्या साउन ८ गते बिहान १० बजेसम्ममा ५ सय नाघ्ने अपेक्षा गरिएको छ। काठमाडौंदेखि बीरगंजसम्मका विभिन्न जिल्लाका विद्यार्थीहरूबाट आवेदन आएको जानकारी उनले दिएका छन्।
उनले बताए अनुसार, यो छात्रवृत्ति परीक्षा विशेष गरी गरिब, विपन्न, सामुदायिक विद्यालयका जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरिएको छ। आवेदन प्रक्रिया पूर्ण रूपमा अनलाइनमार्फत सञ्चालन भइरहेको छ भने अहिले पनि विद्यार्थीहरू सक्रिय रूपमा आवेदन दिइरहेका छन्।
परीक्षामा सहभागी विद्यार्थीहरूले पानीटंकी(१० स्थित लिटिल बडी प्री(स्कुलबाट परीक्षा प्रवेश पत्र प्राप्त गर्न सक्नेछन्। परीक्षा समिति सदस्य बिजय बलका अनुसार यदि कुनै कारणवश प्रवेश पत्र छुटेको खण्डमा परीक्षाका लागि तोकिएका १० वटा कलेज केन्द्रहरूमा वैकल्पिक व्यवस्था गरिएको छ।
नगर सचिव अमित आलोकले छोटो समयमा राम्रो सहभागिता भएकोमा खुसी व्यक्त गर्दै भने, “यस कार्यक्रमलाई आगामी वर्ष अझ व्यवस्थित ढंगले, अझ धेरै विद्यार्थीहरूको सहभागिता सुनिश्चित गर्दै सञ्चालन गरिनेछ।” उनले परीक्षाको सम्पूर्ण प्रक्रिया मर्यादित र पारदर्शी बनाइने स्पष्ट पारे।
परीक्षा समिति सदस्य सुमित कुमार गुप्ताका अनुसार, परीक्षा मुख्य रूपमा अंग्रेजी, नेपाली, गणित र विज्ञान विषयमा केन्द्रित हुनेछ। प्रश्नपत्रहरू कक्षा १० को पाठ्यक्रममा आधारित रहने छन्, जसले विद्यार्थीहरूलाई तयारी गर्न सहज हुनेछ।
यस कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्याब्सन जिल्ला सदस्य शुलभ केसी, महानगर अध्यक्ष राहुल श्रीवास्तव, नगर सचिव अमित आलोक, परीक्षा समिति सदस्य बिजय बल, सुमित कुमार गुप्ता, प्रेस संयोजक दिपु बर्णवाल, तथा नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई लगायतको उपस्थिति रहेको थियो।
प्याब्सन बीरगंजद्वारा सञ्चालित यो छात्रवृत्ति परीक्षा कार्यक्रमले आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका विद्यार्थीहरूलाई उच्च शिक्षा प्राप्तिको अवसर प्रदान गर्ने विश्वास लिइएको छ।