पर्साको पकहाँमैनपुर गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ मा देखिएको लाखौं रुपैयाँको अनियमितता सार्वजनिक भएपछि नेकपा एमालेका युवा नेता अकलेश साहले कडा प्रतिक्रिया जनाएका छन्। ओविसीका राष्ट्रिय उपाध्यक्ष समेत रहेका साहले महालेखापरीक्षकको प्रतिवेदनमार्फत सार्वजनिक भएको अनियमितता र भ्रष्टाचारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले जनप्रतिनिधिमाथि सिधा आरोप लगाएका हुन्।साहले मंगलबार राति फेसबुक लाइभमार्फत गाउँपालिकामा विकासको चरम अभाव र नेतृत्वको चरम गैरजिम्मेवारीप्रति तीव्र असन्तोष व्यक्त गरे। “कुनै पदमा नरहे पनि जनताको चाहनाअनुसार एक करोड रुपैयाँभन्दा बढी बजेट प्रदेशबाट ल्याएर विकास गरेको” उनले भने, “तर केही तत्वले विकास निर्माण रोक्न झूठा उजुरी गरेर अख्तियारमा मुद्दा दर्ता गराए, तथापि हामीले सडक निर्माण सम्पन्न गर्न सफल भयौं।”
मोबाइल खरिदमा लाखौंको खर्च
युवा नेता साहेल गाँउपालिकाले खरिद गरेको मोबाईल बारे खबर सुनेर आफु चकित भएको प्रतिक्रिया दिएका छन । उनले जनतालाई प्रत्यक्ष राहत मिल्ने समान खरिद नगरि आफुलाई फाईदा पुग्ने समान खरिद गरिएको प्रति कडा आक्रोश व्यक्त गरे । महालेखापरीक्षकको प्रतिवेदन अनुसार गाउँपालिकाले अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्य र कार्यपालिका पदाधिकारीका लागि ४३ थान मोबाइल सेट खरिद गर्दा ९ लाख ८९ हजार रुपैयाँ खर्च गरेको छ। प्रति मोबाइल १९,७०० रुपैयाँ पर्ने यी सेटहरू इलोक्ट्रोनिक्स वल्ड नामक फर्मबाट खरिद गरिएका थिए। तर यस्तो खर्च स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का मापदण्ड विपरीत रहेको भन्दै प्रतिवेदनमा गम्भीर आपत्ति जनाइएको छ।नगरसभाबाट कुनै निर्णय नगरी व्यक्तिगत सुविधाका रूपमा वितरण गरिएका मोबाइल सेटहरू न त प्रयोजनमा स्पष्ट छन्, न त प्रयोग पुष्टि भएको छ। महालेखाले यो खर्चलाई गैरकानुनी भन्दै छानबिन र रकम फिर्ताको सिफारिस गरेको छ।
उपाध्यक्षमाथि दोहोरो सुविधा लिएको आरोप
गाउँपालिकाकी उपाध्यक्ष सरफुन नेशामाथि पनि सार्वजनिक स्रोतको दोहोरो प्रयोग गरेको आरोप छ। प्रतिवेदन अनुसार, गिन्नी एन्ड सन्स फर्ममार्फत चार लाख ४९ हजार रुपैयाँमा मोटरसाइकल खरिद गरी उपाध्यक्षलाई दिइएको थियो। साथै, इन्धन सुविधा पनि दिइसकेपछि कानुनतः थप यातायात भत्ता लिन नपाउने भए तापनि, उनले मासिक १४,५०० रुपैयाँका दरले ९ महिनामा थप १ लाख ३० हजार रुपैयाँ लिएकी छिन्। यसलाई स्पष्ट रूपमै दोहोरो सुविधा भनी महालेखाले गैरकानुनी ठहर गरेको छ।
स्वास्थ्य सेवा अस्तव्यस्त
साहले गाउँपालिकाको स्वास्थ्य सेवा प्रणालीप्रति पनि गम्भीर चिन्ता व्यक्त गरे। उनले बताए अनुसार, सरकारले तोकेको ९८ प्रकारका निःशुल्क औषधिहरूमध्ये अधिकांश औषधिहरू मैनपुरका स्वास्थ्य संस्थाहरूमा उपलब्ध छैनन्। “जनताको स्वास्थ्यलाई यति उपेक्षा गर्नु सरासर धोखा हो,” उनले भने।
मिसन २०८४ र नेतृत्वप्रतिको अपेक्षा
साहको फेसबुक लाइभ हेर्ने हजारौं स्थानीय दर्शकहरूले उनलाई ‘मिसन २०८४’ अन्तर्गत गाउँपालिकाको नेतृत्व सम्हाल्न आग्रह गरेका छन्। उनीहरूको विश्वास छ— साहको इमानदारी, जनसेवा भाव र साहसी व्यवहारले गाउँलाई सही दिशामा लैजान सक्छ।उनले स्थानीयवासी, युवावर्ग र सचेत नागरिकहरूलाई एकजुट भई भ्रष्टाचारविरुद्ध आवाज उठाउन आह्वान गर्दै भने, “यो लडाइँ कुनै व्यक्ति वा पार्टीको होइन, यो हाम्रो गाउँको भविष्य जोगाउने संघर्ष हो। अब मौन बस्ने बेला सकिएको छ।”
निर्णयको मोडमा गाउँपालिका
महालेखाको प्रतिवेदन र साहको सार्वजनिक टिप्पणीले पकहाँमैनपुर गाउँपालिकामा देखिएको अनियमिततालाई नयाँ मोडमा पुर्याएको छ। स्थानीय जनताले अब पनि मौनता अपनाए, प्रणाली यथावत् रहनेछ। तर यदि जनता सक्रिय भए, यसै गाउँपालिकाबाटै परिवर्तनको सुरुआत हुन सक्छ।