काठमाडौं । रुसको सुदूर पूर्वमा ४९ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ । ‘आङ्गारा एयरलाइन्स’को एएन– २४ (An-24) मोडेलको उक्त विमान ब्लागोभेस्चेन्स्कबाट चीनसँग सिमाना जोडिएको आमूर क्षेत्रको टिण्डा शहरतर्फ जाँदै गर्दा रडारबाट हराएको थियो ।
बेपत्ता पछि खोजी कार्यमा हेलिकोप्टर र ड्रोन प्रयोग गरिएको थियो । रुसको आपत्कालीन मन्त्रालयले रुसी नागरिक उड्डयन हेलिकोप्टरले विमानको जलिरहेको भाग देखेको जनाएको छ ।
रिपोर्टका अनुसार कोही पनि जीवित नभएको अनुमान गरिएको छ । तास समाचार एजेन्सीकाअनुसार अमुरको नागरिक रक्षा केन्द्रले विमान टिन्डाबाट लगभग १६ किलोमिटर ९१० माइल० टाढा पहाडको भेगमा फेला परेको बताएको छ ।
घटनास्थलबाट प्राप्त फुटेजमा विमानको भग्नावशेष घना जंगलमा जलिरहेको देखिएको छ । आपत्कालीन अधिकारीहरूका अनुसार प्रारम्भिक अनुसन्धानमा खराब मौसमका कारण पाइलटको गल्ती वा प्राविधिक खराबीलाई हेरिएको छ ।
क्षेत्रीय गभर्नर भासिली ओर्लोभले टेलिग्राममार्फत् जानकारी दिँदै भने, “पूर्व विवरणअनुसार विमानमा ४३ जना यात्रुहरू थिए, जसमा ५ जना बालबालिका थिए । साथै, ६ जना चालक दलका सदस्यहरू पनि सवार थिए ।”
तर, रूसी आपत्कालीन मन्त्रालयले यात्रुको संख्या केही फरक दिएको छ । मन्त्रालयका अनुसार विमानमा करिब ४० जना मात्र सवार थिए ।
सन् १९६० को दशकमा निर्मित एएन-२४ विमानहरू रूस तथा अन्य केही पूर्व सोवियत मुलुकहरूमा अझै पनि प्रयोगमा रहेका छन् । यस्ता विमानहरू प्रायः दुर्गम क्षेत्रहरूमा यात्रु तथा सामान ओसारपसारमा प्रयोग गरिन्छन् ।