वीरगंज महानगरपालिका–४, भगवती टोलमा अवस्थित मनकामना माध्यमिक विद्यालयले शुक्रबार शिक्षक दिवसको अवसरमा विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा दिवस मनाएको छ।
विद्यालयका डाइरेक्टर पुरन प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले आ-आफ्ना नृत्य, गीत तथा सांस्कृतिक प्रस्तुति दिँदै गुरु–गुरुआमाप्रतिको सम्मान र कृतज्ञता प्रकट गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले शिक्षकमार्फत आफूहरूले ज्ञानको ज्योति पाएको र समाजमा अगाडि बढ्ने अवसर प्राप्त गरेको भन्दै खुशी व्यक्त गरे।
कार्यक्रममा प्रमुख अतिथि प्रेस सेन्टर नेपालका पूर्व केन्द्रीय सदस्य जगत राईले शिक्षकहरूलाई सम्मान गर्नु हरेक विद्यार्थीको कर्तव्य भएको बताउँदै भने, “गुरु–गुरुआमा हाम्रो ज्ञानको ज्योति हुनुहुन्छ, उहाँहरूले हामीलाई बोल्न, लेख्न र संसार बुझ्न सिकाउनु भएको छ, त्यसैले उहाँहरूको सधैं सम्मान गर्नुपर्छ।”
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साका अध्यक्ष मुनेश लायो मगरले पनि शिक्षक समाजको मेरुदण्ड भएको उल्लेख गर्दै शिक्षकहरूको भूमिकालाई उच्च सम्मान दिनुपर्नेमा जोड दिए।
शिक्षक दिवसको अवसरमा विद्यार्थीहरूले आफ्ना शिक्षक–शिक्षिकालाई फूल र शुभकामनापत्र दिएर सम्मान गरेका थिए। कार्यक्रममा विद्यालयकी प्रिन्सिपल संगीता प्रधान, स्नेह तिवारी, रञ्जित श्रीवास्तव, सावित्री पोखरेल, संगीता श्रेष्ठ, रञ्जना चौधरी लगायत सम्पूर्ण शिक्षक–शिक्षिका र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य सहायक प्रिन्सिपल सुनिल यादवले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कक्षा ९ का विद्यार्थी रौनक अली र राशि श्रेष्ठले संयुक्त रूपमा गरेका थिए।