शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि र निजी विद्यालयहरूको सशक्त संस्थागत संरचना निर्माण गर्ने लक्ष्यका साथ राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ ९प्याब्सन० पर्सा ले संगठन विस्तार अभियानलाई तीव्र बनाएको छ।
अभियान अन्तर्गत प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीको नेतृत्वमा केन्द्रीय कार्यसमिति सदस्य छेडुप लामा, अन्य पदाधिकारी तथा सदस्यहरूको टोलीले पर्सा जिल्लाभित्रका विभिन्न स्थानीय तहमा रहेका निजी विद्यालयहरूको भ्रमण गरेको हो।
टोलीले छिपहरमाई, पकहामैनपुर, कालिकामाई, बिन्दबासिनी, जगरनाथपुर, सखुवा प्रसौनी, बहुदरमाई लगायतका पालिकामा पुगेर त्यहाँ अवस्थित निजी तथा आवासीय विद्यालयहरूका सञ्चालक, प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा सरोकारवालासँग भेटघाट तथा छलफल गरेको थियो।
भ्रमणका क्रममा टोलीले प्याब्सनको उद्देश्य, संगठन विस्तारका कार्ययोजना तथा विद्यालयहरूसँग सहकार्यका सम्भावनाबारे विस्तृत जानकारी दिएको थियो। साथै, गुणस्तरीय शिक्षा, शिक्षक अधिकारको संरक्षण, र विद्यार्थी–केन्द्रित नविनतम अभ्यासको प्रवर्द्धनमा प्याब्सनको प्रतिबद्धता दोहोर्याइएको थियो।
“हामी पर्साभरिका निजी विद्यालयलाई एउटै संस्थागत ढाँचामा आबद्ध गर्दै शिक्षा प्रणालीमा एकरूपता ल्याउने, गुणस्तर कायम गर्ने र गाउँ–गाउँसम्म संगठन विस्तार गर्ने लक्ष्यसहित अघि बढिरहेका छौं।”प्याब्सन पर्साका अध्यक्ष चौधरीले भने,त्यस्तै, केन्द्रीय सदस्य छेडुप लामाले संगठन विस्तारसँगै विद्यालय, शिक्षक र अभिभावकबीच सहकार्य र समन्वयको वातावरण निर्माणमा पनि अभियान केन्द्रित रहेको बताए।
प्याब्सन टोलीले भ्रमणका क्रममा केही विद्यालयहरूलाई सदस्यता लिन आग्रह गरेकोमा धेरै विद्यालयहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्। टोलीले आगामी दिनमा शिक्षक तालिम, विद्यार्थी प्रतियोगिता, स्वास्थ्य तथा साइबर सुरक्षा सचेतना जस्ता कार्यक्रमहरू विद्यालयहरूसँग सहकार्यमा सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
प्याब्सन पर्साले संगठन विस्तारलाई निरन्तरता दिँदै जिल्लाका सबै पालिकामा पुगेर निजी विद्यालयहरूको हक–हितको संरक्षण र गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा सशक्त भूमिका निर्वाह गर्ने स्पष्ट संकेत दिएको छ।