वीरगञ्ज : सशस्त्र प्रहरी बल नेपाल, पर्सा अन्तर्गत सीमा सुरक्षा गुल्म वीरगञ्जले तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाएको छ। गुल्मपति डिएसपी पुरुषोत्तम भण्डारीको कुशल नेतृत्वमा सञ्चालित अपरेसन अन्तर्गत हालै दुई स्थानमा गरिएको छापामार कारवाहीबाट ७ लाख ६ हजार ६ सय रुपैयाँ बराबरका भन्सार छलिएका अवैध कपडा बरामद भएका छन्।
साउन ११ गते प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगञ्ज–१०, आदर्शनगरका दुई छुट्टाछुट्टै स्थानमा एकैदिन छापा मारेको हो।
पहिलो छापा साँझ ४स्३५ बजे आदर्शनगरस्थित एक गोदाममा मारेको थियो, जहाँ चोरी पैठारी गरिएका रेडिमेड कपडा फेला परे।दोस्रो छापा साँझ ५स्५५ बजे स्थानीय अरुण कुमार तेलीको घरमा मारिएको थियो, जहाँ पुनः ठूलो परिमाणमा कपडा बरामद गरियो।
उक्त अपरेसनमा डिएसपी भण्डारीको नेतृत्वमा १५ जना सशस्त्र प्रहरी सहभागी थिए भने भन्सार कार्यालयका नायब सुब्बा सुवर्ण पौडेलसहित ३ जना कर्मचारीले साथ दिएका थिए। बरामद सबै कपडा वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल स्रोतले जनाएको छ।
डिएसपी भण्डारीलाई सशस्त्र प्रहरी बलभित्र कुशल, योजनाबद्ध तथा निडर अधिकृतको रूपमा चिनिन्छ। तस्करी नियन्त्रण मात्र नभइ, विपद् व्यवस्थापनमा पनि उनको दक्षता उच्च मानिन्छ। स्थानीय व्यापारीदेखि भन्सार प्रशासन र सर्वसाधारणसम्मले उनको सक्रियता र प्रतिबद्धताको खुलेर प्रशंसा गरेका छन्।
स्थानीय विश्लेषकहरू भन्छन् डिएसपी भण्डारीको कमान्डमा सुरु भएको अभियान दीर्घकालीन समाधानको दिशामा गइरहेको छ। यसले सीमावर्ती क्षेत्रमा तस्करी घटाउन स्पष्ट प्रभाव पारेको छ।
सशस्त्र प्रहरी बलले यस्ता अपरेसनलाई अझ कडा निगरानीसहित निरन्तरता दिने जनाएको छ। डिएसपी भण्डारीको नेतृत्वमा सुरु भएको यो अभियान अहिले तस्करी नियन्त्रणको उदाहरणीय मोडेल बन्न थालेको छ।