वीरगंज : वीरगंज महानगरपालिका–१५, भिस्वास्थित नवदीप एकेडेमीमा हेड ब्वाय, हेड गर्ल तथा हाउस क्याप्टेन्सहरूको शपथ ग्रहण तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेले विद्यार्थीको नेतृत्व विकास अत्यावश्यक रहेको बताए। उनले भने, “विद्यार्थीमा नेतृत्व, अनुशासन र आत्मविश्वासको विकास नगरी जीवनमा दीर्घकालीन सफलता सम्भव छैन। यस्ता कार्यक्रमहरूले उनीहरूमा नेतृत्व सीप, जिम्मेवारी बोध र सामाजिक चेतना विस्तार गर्छन्।”
विशिष्ट अतिथि तथा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले नवदीप एकेडेमीको शैक्षिक धरातलको प्रशंसा गर्दै भने, “नवदीप एकेडेमीले निजी क्षेत्रको शिक्षामा गुणस्तरीय र अनुशासित वातावरण सिर्जना गर्दै उदाहरणीय कार्य गर्दै आएको छ। प्याब्सन पर्साले यस्ता विद्यालयहरूलाई निरन्तर प्रोत्साहन दिनेछ।”
कार्यक्रममा प्याब्सन प्राङ्गिक परिषद सदस्य डा. हरिशंकर साह, मधेश प्रदेश वरिष्ठ सल्लाहकार इमामुद्दिन अहमद, प्याब्सनका पूर्व केन्द्रीय सदस्य प्रकाश उपाध्याय, माउन्ट एडमण्ड स्कुलका निर्देशक फजिल अहमद, प्याब्सन पर्साका उपाध्यक्ष बिरेन्द्र यादव लगायतको सहभागिता रहेको थियो।
कार्यक्रम नवदीप एकेडेमीकी संचालिका सुशिला साहको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रजातान्त्रिक प्रणालीबाट चयन भएका हेड ब्वाय आर्यन साह, हेड गर्ल प्रियांका साह र हाउस क्याप्टेन्सहरूले औपचारिक रूपमा शपथ ग्रहण गरे।
त्यस्तै, गत वर्ष शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्रसहित सम्मानित गरिएको थियो।कार्यक्रमको सञ्चालन शिक्षिका नेहा अग्रवालले गरेकी थिइन्। स्थानीय समुदाय, अभिभावक र अतिथिहरूको उपस्थितिले कार्यक्रममा विशेष आकर्षण थपेको थियो।
