जगत राई
वीरगञ्ज महानगरपालिकामा सञ्चालित प्लस टु तहका कलेजहरूमा अध्ययनरत ३२ जना विद्यार्थीलाई प्याब्सन वीरगञ्ज महानगर समितिले छात्रवृत्ति वितरण गरेको छ। शुक्रवार वीरगञ्जमा आयोजित छात्रवृत्ति वितरण समारोहमा नगर प्रमुख राजेशमान सिंहले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूलाई सिफारिस पत्र हस्तान्तरण गर्दै छात्रवृत्तिबाट विद्यार्थीहरू लाभान्वित हुने विश्वास व्यक्त गरे।
प्रमुख अतिथि नगर प्रमुख सिंहले भने, “प्याब्सनले विद्यार्थीको हकमा गरेको यो पहल प्रशंसनीय छ। छात्रवृत्तिका यस्ता योजनाहरूले अभिभावकको आर्थिक बोझ कम गर्नुका साथै मेहन्ती विद्यार्थीहरूलाई हौसला दिने काम गर्छ।”उनले थपे“महानगरभित्रै गुणस्तरीय शिक्षाको व्यवस्था गरेर विद्यार्थीलाई राजधानी वा अन्यत्र जानुपर्ने अवस्थालाई क्रमशः अन्त्य गर्न सकिनेछ।”
प्याब्सन वीरगञ्ज महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा छात्रवृत्तिका लागि आयोजित प्रतिस्पर्धात्मक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूमध्ये आयुष सर्राफलाई ल्यापटप, सागर साहलाई आई ट्याब, तथा सञ्जोग महतो, निराजन प्रसाद र रोशन गुप्तालाई कलेज पोशाक प्रदान गरिएको थियो।
कार्यक्रममा महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले वीरगञ्जमै विद्यार्थीहरूलाई स्तरीय शिक्षा दिन सकिने वातावरणको थालनी भएको टिप्पणी गर्दै भने “छात्रवृत्तिको माध्यमबाट विद्यार्थीको मनोबल मात्र बढ्दैन, वीरगञ्जमै पढ्न सकिन्छ भन्ने सन्देश पनि फैलन्छ।” कार्यक्रममा प्याब्सन जिल्ला अध्यक्ष सरोज चौधरी, मानव सेवा आश्रमका संस्थापक देवेश गुप्ता, इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई,सुलभ केसि लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
समारोहको सञ्चालन प्याब्सन महानगर सचिव अमित आलोकले गरेका थिए भने उपाध्यक्ष शर्मानन्द कुशवाहाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।प्याब्सनका सल्लाहकार मणि पाख्रिन, लालबहादुर पटेल, मधेस प्रदेश उपाध्यक्ष पुरन प्रधान, सल्लाहकार शिवजी गुप्ता, एन प्याब्सन महानगर अध्यक्ष जियालाल साह, प्याब्सन पर्सा सचिव अशोक संग्रौला लगायत अभिभावक, विद्यार्थी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।