वीरगंज महानगरपालिका–१५ स्थित लक्ष्मणवामा वीरगंज नर्सिङ्ग क्याम्पस द्वारा एक स्वास्थ्य प्रदर्शनी कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रमको प्रमुख उद्देश्य समुदायमा देखिएका प्रमुख स्वास्थ्य समस्याहरूको बारेमा जनचेतना फैलाउनु तथा विद्यार्थीहरूलाई व्यवहारिक अनुभव प्रदान गर्नु रहेको थियो।
वीरगंज नर्सिङ्ग क्याम्पसमा अध्ययनरत B.Sc. Nursing 1st Year की छात्राहरूले Community Health Nursing Concurrent Field अन्तर्गत ५ हप्तासम्म लक्ष्मणवा क्षेत्रका २५० घरधुरीमा घरदैलो भ्रमण गरेका थिए। सो अवधिमा संकलित स्वास्थ्यसम्बन्धी समस्याहरूलाई आधार मानेर आजको स्वास्थ्य प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख डा. कल्पना पौडेलले गर्नुभएको थियो भनेप्राध्यापकद्वय रश्मी घिसिङ्ग र इन्दिरा चौरसियाको निगरानी तथा मार्गदर्शनमा कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रममा सहयोगी हातहरू नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौलागाईं विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।साथै बिपिन शाह, शेष हाजरा, विजय कुमार बल लगायत अन्य व्यक्तित्वहरूको महत्वपूर्ण सहयोग रहेको थियो। स्वास्थ्य प्रदर्शनीमा विद्यार्थीहरूले पोषण, सरसफाइ, मातृ तथा शिशु स्वास्थ्य, रोगको रोकथाम, प्राथमिक उपचार, मानसिक स्वास्थ्य लगायत विभिन्न शीर्षकमा आकर्षक तस्बिर, चार्ट र मोडलहरू प्रस्तुत गरेका थिए।
स्थानीय बासिन्दा, अभिभावक, सामाजिक अगुवा, स्वास्थ्यकर्मी लगायतको उल्लेखनीय उपस्थिति कार्यक्रमको सफलताको संकेत थियो। क्याम्पस प्रमुख डा. पौडेलले कार्यक्रमको समापनमा समुदायसँग जोडिएर अध्ययन गर्न पाउनु विद्यार्थीहरूको लागि महत्वपूर्ण अवसर भएको बताउँदै यस्ता कार्यक्रमले शिक्षा र सेवालाई जोड्ने सेतुको काम गर्ने धारणा राख्नुभयो। उक्त कार्यक्रमले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै स्थानीय बासिन्दालाई आफ्नो स्वास्थ्यप्रति सचेत गराएको सहभागीहरूले बताएका छन्।