बीरगंज, साउन २१ – निजी विद्यालयहरूको छाता संगठन प्याब्सन महानगरले बीरगंज महानगरपालिका अन्तर्गत दुई विद्यालयको अनुगमन गरेको छ। प्याब्सनमा आबद्ध गराउने उद्देश्यले गरिएको अनुगमनमा वडा नं. १४ स्थित फुरकान नेशनल एकेडेमी र वडा नं. १६ स्थित नेशनल मोडल स्कूल, नगवा समेटिएका छन्।
प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवका अनुसार, प्याब्सनको सदस्यता प्राप्त गर्न विद्यालयले महानगरपालिकाले तोकेको शिक्षा नियमावलीको पूर्ण पालना गर्नुपर्नेछ। त्यसमा विद्यालयको सम्पूर्ण कर चुक्ता हुनु, शैक्षिक सत्रको अनुमतिपत्र प्राप्त गर्नु, र सो अनुमतिअनुसार नै अध्यापन हुनु पर्ने प्रावधानहरू रहेका छन्।
“नियमअनुसार विद्यालयले सम्पूर्ण मापदण्ड पूरा गरेपछि मात्रै प्याब्सन सदस्यता सिफारिस गरिन्छ,” अध्यक्ष श्रीवास्तवले बताए। अनुगमनपछि महानगर कमिटीले प्याब्सन जिल्ला कार्यसमिति, पर्सामा सिफारिस गर्नेछ, जसपछिमात्र सदस्यता प्राप्त हुनेछ।
उनले हालसम्म बीरगंजमा ५४ वटा निजी विद्यालयहरू प्याब्सनमा आबद्ध भइसकेको जानकारी दिए। अध्यक्ष श्रीवास्तवका अनुसार, अझै पनि धेरै विद्यालयहरू प्याब्सनसँग आबद्ध हुन आतुर छन्।
यता नगर सचिव अमित आलोकले बिहीबार मात्रै आचार्य एकेडेमी, सुफा एकेडेमी, र गोल्डेन वाटिका, हरपतगंज लगायत तीन विद्यालयको निरीक्षण गरिएको जानकारी दिए। प्याब्सनले शिक्षा क्षेत्रको गुणस्तर वृद्धिमा उल्लेखनीय काम गर्दै आएको भन्दै सचिव आलोकले ग्रामीण भेगका विद्यालयसमेत अब प्याब्सनसँग जोडिन थालेको बताए।
सचिव आलोकका अनुसार, प्याब्सनले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा समेत ध्यान दिएको हुँदा निजी विद्यालयहरूको आकर्षण संस्था तर्फ बढ्दो छ।