बीरगंज, साउन २० – “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल तेक्वान्दो संघ पर्सा जिल्ला कार्यसमितिको आयोजनामा थाइल्यान्डमा हुन लागेको क्याडिट जुनियर तेक्वान्दो च्याम्पियनसिप २०२५ मा सहभागी हुन लागेकी खेलाडी अवतिका झा र कोच दिपेश मानन्धरलाई एक कार्यक्रमबीच बिदाइ गरिएको छ।
पर्सा जिल्लाबाट अन्डर–१९ वर्गमा छनोट हुन सफल झा एक मात्र प्रतिनिधिका रूपमा आगामी अगस्ट ९ र १० ९साउन २४ र २५० मा थाइल्यान्डको कटया स्थित InnoSport Complex, Sports Nation Training Center मा आयोजना हुने प्रतियोगितामा नेपालबाट सहभागिता जनाउनेछिन्।
बिदाइ समारोह मंगलबार जिल्ला खेलकुद सभा हल, बीरगंजमा आयोजित गरिएको थियो। कार्यक्रममा अवतिकालाई फूलमाला, अविर र सम्मानपत्रका साथ बिदाइ गरियो। नेपाल तेक्वान्दो संघ पर्साका अध्यक्ष गणेशमान श्रेष्ठले जानकारी दिएअनुसार, ४ हजारभन्दा बढी खेलाडी सहभागी हुने यो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पर्साबाट अवतिका झा छनोट हुनु जिल्लाको लागि गौरवको विषय भएको बताए।
उनले अझ भने, “कम उमेरमै यस्तो उपलब्धि हासिल गर्नुमा खेलाडीको अथक मेहनतसँगै अभिभावक र प्रशिक्षकको विशेष योगदान रहेको छ।” अवतिका झा हाल ९ वर्षकी मात्र हुन्। उनले यसअघिका प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्दै राष्ट्रिय स्तरमा पहिचान बनाएकी छन्।
कार्यक्रममा झाका अभिभावक डा। रञ्जन कुमार झा र डा। स्वेता झा, प्रशिक्षक दिपेश मानन्धर, तथा सल्लाहकार निशान्त लामिछाने, डोजाङ प्रमुख राजेन्द्र खड्गी, मजिल हवारी, बिक्रता डंगोल, मन्सुर हवारी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
थाइल्यान्डमा आयोजना हुने प्रतियोगितामा नेपाल, भारत, अमेरिका, जापान, कोरिया, थाइल्यान्ड, चीनलगायत करिब ४०–५० देशका खेलाडीहरूको सहभागिता रहने आयोजकले जानकारी दिएका छन्।