हालै वीरगन्ज महानगरपालिकाका विभिन्न वडामा भइरहेको डिप बोरिङ जडानमा अनियमितता बढेको भन्दै नेकपा (एमाले) वीरगन्ज महानगर कमिटीले तत्काल रोक लगाउन माग गरेको छ।
एमाले मधेस प्रदेशका उपाध्यक्ष तथा वीरगन्ज महानगर इन्चार्ज बिचारी यादवको नेतृत्वमा महानगरभित्रका विभिन्न वडाका निर्वाचित वडाध्यक्षहरूको टोलीले आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई भेटेर ध्यानाकर्षण गरायो।
टोलीका सदस्य तथा एमाले महानगर उपाध्यक्ष एवं वडा अध्यक्ष रामकिशोर सिंह (पराग) का अनुसार विपद्को समयमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय वीरगन्जले स्थानीय जनप्रतिनिधिसँग कुनै समन्वय नगरी बोरिङ जडान गरिरहेको छ, जसले अनावश्यक विवाद र समस्या सिर्जना गरेको छ।
सिंहका भनाइमा, हालसम्म भएका बोरिङ जडानका तथ्यांक र अनुमानित लागत विवरण (इस्टिमेट)नदिएको गुनासो प्रमुख जिल्ला अधिकारीसमक्ष राखिएको छ। टोलीले दुई दिनभित्र विवरण उपलब्ध गराउन आग्रह गर्दै, माग पूरा नभएमा लिखित सूचना दिने र त्यसमापछि पनि कार्यान्वयन नभए कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएको छ।
महानगर इन्चार्ज यादवले भने, संघ सरकारबाट भइरहेको बोरिङ जडान आवश्यकता अनुसार नभई हचुवाको भरमा भइरहेको छ। मन्त्रीका कार्यकर्ताको घर अगाडि मात्र बोरिङ जडान भएको छ, तर जहाँ अत्यावश्यक छ, त्यहाँ काम भएको छैन।
उक्त टोलीमा एमालेबाट निर्वाचित वडाध्यक्षहरू प्रदीप चौरसिया, सुरेश साह कानु, विजय प्रसाद कुर्मी, संजु छतकुली, जितेन्द्र यादव, हिरा गिरि, अवधकिशोर कुशवाहा लगायतको सहभागिता थियो।