वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मङ्गलवार एक कैदीको मृत्यु भएको छ । मृतक कैदी वीरगञ्ज महानगरपालिका-२५ खाल्वा टोलाका राहुल साह तुराहा रहेका छन् । उनी २०७९ सालदेखि कर्तव्य ज्यान मुद्दामा अदालतको आदेश अनुसार वीरगञ्ज कारागारमा जन्मकैद सजाय काटिरहेका थिए ।
मृतकका आफन्तले अस्पताल र कारागार प्रशासनमाथि लापरबाहीको आरोप लगाउँदै अस्पताल बाहिर प्रदर्शन गरेका छन् । कारागार प्रशासनका अनुसार, मङ्गलवार बिहान कारागारमा व्यायाम गर्ने क्रममा राहुलको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल नारायणी अस्पताल ल्याइएको थियो । अस्पतालले प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल रेफर गरेको थियो । तर, रेफर प्रक्रियामा ढिलाइ भएको र कारागार प्रशासनले समयमै अन्य अस्पताल लैजान अनुमति नदिएको कारण मृत्यु भएको आफन्तको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालका अनुसार, राहुललाई अन्य अस्पताल लैजाने प्रक्रिया पूरा गर्ने क्रममा उनको मृत्यु भएको हो । मृतकका आफन्तले अस्पताल अगाडि टायर बालेर प्रदर्शन गरेपछि केही समय तनावको स्थिति सिर्जना भएको थियो । हाल अवस्था सामान्य बनेको र मृतकका आफन्तलाई छलफलका लागि जिल्ला प्रशासन कार्यालय पठाइएको डिएसपी लम्सालले बताए । मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमै राखिएको छ ।
आफन्तका अनुसार, नारायणी अस्पतालले राहुललाई अन्यत्र लैजान सुझाव दिएको लामो समयसम्म जेल प्रशासनले आनाकानी गरेको र एम्बुलेन्समा राख्ने क्रममा प्रहरीले रोकेको कारण उपचारमा ढिलाइ भएको हो । “राहुललाई एम्बुलेन्समा राख्न लाग्दा प्रहरीले रोकेर अस्पतालमै राख्यो, जसले गर्दा उपचार नपाएर उनको मृत्यु भयो,” एक आफन्तले बताए । उनीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।
यता, नारायणी अस्पताल प्रशासनले भने राहुललाई सम्भव भ्याएसम्मको उपचार प्रदान गरिएको र तत्कालै थप उपचारका लागि रेफर गरिएको दाबी गरेको छ । घटनापछि अस्पताल वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा मृतकका आफन्त र प्रशासनबिच छलफल भइरहेको छ । घटनाले जेल र अस्पताल प्रशासनको समन्वय र आपत्कालीन स्वास्थ्य सेवाको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।