नेपाल पत्रकार महासंघ मधेश प्रदेशको स्थायी कार्यालय भवन निर्माणको तयारी अन्तिम चरणमा पुगेको अवस्थामा मंगलबार बिहान अनपेक्षित रूपमा धनुषाका केही वकिलहरूको समूहले जबरजस्ती अवरोध गरेको छ। गुठी संस्थानसँग कानुनी रूपमा लिज सम्झौता भइसकेको जग्गामा तारबार गर्ने क्रममा भएको उक्त घटनाले स्थानीय सञ्चार क्षेत्र र कानुनी वृत्त दुवैलाई चकित बनाएको छ।
बिहानैदेखि महासंघका पदाधिकारी र सदस्यहरू घटनास्थलमा उपस्थित भई तारबारको काम गर्दै थिए। अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, सचिव हदिस खुदारलगायतले आफ्नै उपस्थितिमा जग्गाको परिधि सुरक्षित गर्न तारबार गरिरहेका बेला वकिलहरूको एक समूह आइपुगेको थियो। उनीहरूले कुनै आधिकारिक आदेश वा कानुनी प्रक्रिया बिना नै बल प्रयोग गर्दै कार्य अवरुद्ध गरेका थिए ।
महासंघका पदाधिकारीहरूले ४ कठा जग्गा गुठी संस्थान र पत्रकार महासंघ मधेश प्रदेशबीच औपचारिक लिज सम्झौता भइसकेको छ। सम्झौताअनुसार महासंघलाई उक्त जग्गामा आफ्नो कार्यालय भवन निर्माण गर्न सम्पूर्ण कानुनी अधिकार छ। “हामी कानुनी प्रक्रिया पुरा गरेर, सम्झौता कागजातसहित काम सुरु गरेका हौं। यस्तो अवस्थामा वकिलकै तर्फबाट कानुनको उल्लङ्घन हुनु दुर्भाग्यपूर्ण र आपत्तिजनक हो,” अध्यक्ष बन्जाराले भने।
उनका अनुसार यो घटना केवल भवन निर्माणको अवरोध मात्र नभई सञ्चारकर्मीहरूको हक–अधिकारमाथि प्रत्यक्ष आक्रमण पनि हो। “यो प्रेस स्वतन्त्रता र संस्थागत विकासको यात्रामाथि ठाडो हस्तक्षेप हो,” उनले जोड दिए।
महासंघले घटनाबारे तुरुन्तै स्थानीय प्रशासन, जिल्ला प्रहरी कार्यालय र अन्य सम्बन्धित निकायलाई जानकारी गराएको छ।
स्थानीय सञ्चारकर्मी र सामाजिक अगुवाहरूले पनि वकिलहरूको यस कार्यलाई निन्दनीय बताएका छन्। उनीहरूका अनुसार, पत्रकार महासंघको भवन निर्माण केवल पत्रकारिताको विकास मात्र नभई स्थानीय समुदायको सूचना पहुँच र अभिव्यक्ति स्वतन्त्रताको आधार बलियो बनाउने कदम हो।
घटनापछि तारबार कार्य केही समयका लागि स्थगित गरिएको भए पनि महासंघले छिट्टै पुनः निर्माण कार्य सुरु गर्ने तयारी गरेको जनाएको छ।