वीरगन्ज समाज सेवाले निरन्तर सञ्चालन गर्दै आएको निशुल्क भोजन अभियानअन्तर्गत ६५ औँ साप्ताहिक कार्यक्रम शनिबार नारायणी अस्पतालको प्राङ्गणमा सम्पन्न भएको छ।डेढ वर्षदेखि प्रत्येक शनिबार बिहान ९:३० बजे सुरु हुने यो अभियानअन्तर्गत अस्पतालमा उपचाररत विपन्न बिरामी, कुरुवाहरू, असहाय, रिक्सा–ईरिक्सा चालक तथा यात्रुहरूलाई घरमै पकाएको जस्तो सफा, स्वास्थ्यकर र पौष्टिक खाना खुवाइँदै आएको छ। हरेक हप्ता करिब ४५० देखि ५०० जनाले यस सेवाबाट लाभ लिँदै आएका छन्।
वीरगन्ज समाज सेवाका अध्यक्ष अशोक गुप्ताले “सेवा नै धर्म हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै गरिब, विपन्न र असहायहरूको अनुहारमा मुस्कान देख्दा आफूमध्ये ठूलो सन्तुष्टि मिल्ने बताए।
त्यसैगरी अभियानका सचिव प्रकाश बाहेतीले दिनदुखीको सेवा नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै भने, “हामीले सुरु गरेको यो निशुल्क भोजन अभियानलाई अझै बलियो बनाउन इच्छुक सबैलाई हातेमालो गर्न आग्रह गर्दछौं।”
यसपटकको भोजनमा वृद्ध, महिला तथा बालबालिकालाई बोलाइ–बोलाइ शुद्ध शाकाहारी खानाका रूपमा भात, दाल, आलु–परवलको तरकारी र हरियो खुर्सानीको अचार खुवाइयो।
कार्यक्रममा समाजका उपाध्यक्ष मनोज प्रसाद रौनियार, सचिव प्रकाश बाहेती, सदस्यहरू मदन प्रसाद गुप्ता, लालबाबु सिंह, निसान्त लाठ, राजेन्द्र भट्टराई, रियान्स सिंह राजपुतलगायतका पदाधिकारी तथा स्वयंसेवकले सक्रिय भूमिका निर्वाह गरेका थिए।