सानोपाइला संस्थाको आयोजनामा र क्वेष्ट फर्माको आर्थिक सहयोगमा वीरगञ्जस्थित बालसुधार गृहमा आयोजित ७ दिने मैनबत्ती सीपमूलक तालिम शनिबार सम्पन्न भएको छ। तालिम प्रकाश प्रोजेक्टको सहकार्यमा सञ्चालन गरिएको हो।
पहिलो चरणमा बालसुधार गृहमा रहेका १५ जना बालबिजयीकर्ताले सहभागिता जनाएका थिए। प्रशिक्षणपछि उनीहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ। सहभागीले विभिन्न डिजाइनका सजावटी मैनबत्ती बनाउन सिकेका छन्। आयोजकका अनुसार यस तालिमले बालबालिकालाई आत्मनिर्भर बनाउन सहयोग गर्नेछ र भविष्यमा उपयोगी सीपका रूपमा प्रयोग गर्न सकिनेछ।
समापन कार्यक्रममा प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बालसुधार गृहमा रहेका बालबालिकालाई आत्मविश्वास दिलाउने, व्यवहारिक सीप सिकाउने र जीवनमा अघि बढ्न प्रेरणा दिने उद्देश्यले यस्तो तालिम महत्वपूर्ण हुने बताए। उनका अनुसार आगामी चरणमा थप बालबालिकालाई पनि समावेश गरिनेछ।
कार्यक्रममा प्रकाश प्रोजेक्टकी संयोजक शुश्मा गौतम, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं, सानोपाइला संस्थाका संयोजक राजकुमार तामाङ, प्रशिक्षक विपिन उपाध्यायलगायतको उपस्थिति थियो। प्रशिक्षक उपाध्यायका अनुसार तालिममा सजावटी मैनबत्ती बनाउन, ढाँचा तयार पार्न, रंग संयोजन, मोम पगाल्ने प्रविधि लगायतका सीपहरू सिकाइएका थिए।
समारोहमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र, नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाई, क्वेष्ट फर्माका उमेश श्रेष्ठ, राष्ट्रिय समाचार समितिका प्रमुख हिमाल लम्सालसहित विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो।
आयोजक संस्था र सहकार्यकारी प्रकाश प्रोजेक्टले यस तालिमले बालअधिकार संरक्षण, सुधार तथा पुनर्स्थापना अभियानलाई बल पुर्याउने विश्वास व्यक्त गरेका छन्। साथै, सहभागीले उत्पादन गरेका मैनबत्तिलाई आगामी दिनमा बजारमा लैजाने तयारी भइरहेको जानकारी पनि गराइयो।